सप्तरीका कतिपय पालिकाले ठण्डी बढेको भन्दै करिब दुई साता अघि केही दिन विद्यालय बन्द राख्ने भनी सूचना जारी गरे ।
एक दिन चिसो बढ्नासाथ यस्तो सूचना जारी त गरियो तर त्यसको भोलिपल्ट देखि टण्टलापुर घाम लाग्न थाल्यो । तैपनि घोषित समयसम्म विद्यालयहरु बन्द नै रहे, पठनपाठन भएन । माघ लागेपछि दुई दिन यता चिसो बढ्यो र कञ्चनरुप नगरपालिकाले माघ ४ गते देखि ९ गतेसम्म विद्यालयको पठनपाठन बन्द गर्ने सूचना जारी गरेको छ । कुरा विद्यालयको मात्र होईन, अचेल मेला, महोत्सव लगायत अनेक नाउँमा स्थानीय तह, प्रदेश, सरकार लगायतले आ–आफ्ना स्तरबाट पटक–पटक विदाका सूचना जारी गर्ने गरेका छन् । एउटा पालिकामा कामचलिरहँदा अर्कोमा बन्द रहने भएपछि कतिपय सेवाग्राहीलाई पनि यसबारे जानकारी नभएर व्यर्थमा दुःख पाउने अवस्था आउने गरेको छँदैछ । यसका साथै स्थानीय तह, प्रदेश र केन्द्रबाट समेत विदाको घोषणा गरिँदा वर्षमा धेरै दिन यस्तै विदामा वित्ने अवस्था आउने गरेको छ । विदा बढी भयो भने कामकाज रोकिन्छ । कामकाज रोकिने भने आज गर्नुपर्ने काम भोलिका लागि थाँति रहनु स्वाभाविक नै हो । काम सोचेर राखियो भने यसले समयको समेत बर्बादी हुन जान्छ । ‘कल करे सो आज कर…’ त्यसै भनिएको होईन ।
तसर्थ अधिकार छ भन्दैमा जथाभावी विदा दिने प्रचलनलाई पनि राम्रो मानिदैन । खासगरी विद्यालयहरुमा बढी विदा दिन थालियो भने यसले वालवालिकाको पठनपाठनमाथि असर पर्न जान्छ । समयमा पठनपाठन भएन भने कोर्स पूरा हुँदैन र विद्यार्थीले परीक्षामा पनि राम्रो गर्न नसक्ने अवस्था आउन सक्छ । समयमा काम सम्पन्न नगरी सोचेर राख्नु भनेको पछाडि पर्दै जाने लक्षण पनि हो । तारन्तारका विदाले समयमा काम गर्न अवरोध खडा गर्ने हुँदा विद्या दिनुभन्दा पहिले त्यसको औचित्य र उपादेयताका बारेमा सोच्नै पर्ने हुन्छ ।