• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

गत मंगलबार माघे संक्रान्ति अर्थात सरकारी विदाको दिन थियो । तर उक्त दिन राजविराज नगरपालिकाको स्कार्पियोलाई सरकारी विदाले छोएन ।
जनप्रतिनिधि र अन्य केही व्यक्ति समेत चढेर गएको उक्त स्कार्पियोलाई बाटोमा कसैले पनि ‘विदाको दिन किन सरकारी गाडी चलाएको’ भनेर सोध्ने काम भएन । निर्बाध दौडिरहेको उक्त सरकारी गाडी दुरुपयोगको कुरा तब उठ्यो जब त्यसको ठक्करले बोदेबर्साइन नगरपालिका–१ बस्ने राजेशकुमार यादव र अजितकुमार यादवलाई ठक्कर दिएर भाग्यो । मोटरसाईकलमा सवार ती दुवै जना गम्भीर घाइते भई यति बेला उपचारका क्रममा छन् । सरकारी विदाका दिन जनप्रतिनिधि सहितका व्यक्ति बसेर चलाईएका गाडीले दुर्घटना गरेपछि घाइतेको उद्धार, उपचार तर्फ लाग्नु पर्नेमा चालक फरार भएको कारण गैर जिम्मेवार व्यवहार देखाएको प्रष्टै भएको छ । विदाका दिन सरकारी गाडी दुरुपयोग हुने गरेका घटना र तिनका बारेमा समाचार आईरहँदा पनि राजविराज नगरपालिकाले यसबाट पाठ सिक्नु त कता हो कता उल्टै जनप्रतिनिधि आफैं सवार भई गाडीको दुरुपयोग गरेको भने अहिले चर्चाको विषय बनेको छ । नगरपालिकाको गाडी मेयरलाई कार्यालय आउन जान तथा आवश्यक कार्य सम्पादनका क्रममा आउजाउ गर्नका लागि सुविधा स्वरुप उपलब्ध गराईएको हो । विदाका दिन निजी प्रयोजनका लागि त्यसलाई चलाउन नमिल्ने प्रावधान छ । स्थानीय सरकारकै रुपमा रहेको नगरपालिकाले सुशासन कायम गर्न तथा थिति बसाल्नमा उदाहरणीय बन्नेछ भनी नगरबासीले लिएको अपेक्षामाथि यसप्रकारको दुरुपयोगले तुषारापात गरेसरह भएको छ भन्दा अन्यथा नहोला । सप्तरीका अन्य कतिपय स्थानीय तहको गाडीलाई पनि यसरी नै दुरुपयोग गरिएका समाचार यस अघि पनि नआएका होईनन् ।
त्यसैले विदाका दिनमा चलाउने आफ्ना निकटका व्यक्तिले माग्दा सरकारी गाडी दिएर पठाउने जस्ता दुरुपयोग बन्द गर्न आवश्यक छ । ट्राफिक प्रहरीले पनि विदाका दिन चलाईने सरकारी गाडीप्रति निगरानी बढाउन आवश्यक छ ।