• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा यतिबेला काउली (फूलकोभी)को उत्पादन प्रशस्त भएको छ । सोचेभन्दा बढी परिमाणमा उत्पादन भएको देखेर किसान पनि निकै हर्षित बनेका थिए । तर उनीहरुको यो खुशी धेरै समय टिक्न सकेन । तयार भएको काउली बेच्ने बेलामा ह्वात्तै मुल्य घटेर अहिले कौडीको मूल्य सरह बन्न पुगेको छ ।
बजारमा सबैभन्दा बढी परिमाणमा बेच्न ल्याएको यही काउलीको मूल्य अहिले २० रु. प्रति केजी भन्दा पनि कम भएको छ । प्लाष्टिकका बोतलमा बेचिने एक लिटर भन्दा पनि कम परिमाणको पानीको मूल्य न्यूनतम २० रुपियाँ छ भने ताजा काउली केजीको २० रु. पनि तिर्न धेरै जसो तयार नभईरहेको अवस्था छ । काउलीको उत्पादन त्यसै भएको छैन । किसानहरुको अथक मिहिनेत र लगानी लागेको छ । तर लागत सम्म नउठ्ने गरी मूल्य घटाउँदा पनि काउली बिक्री नहुनु भनेको उनीहरुका लागि एक प्रकारको बज्रपात सरह नै हो । किसानको उत्साह जगाउनु छ भने सरकारले पनि साथ दिने यस्तै बेलामा हो । कृषि उत्पादनको बजारीकरण नगर्ने हो भने घाटा लगाएरै उत्पादन बेच्नु पर्ने बाध्यताले किसानहरुलाई पछ्याईरहने निश्चित नै छ । बजारको व्यवस्था भएमा किसानको उत्पादनले उचित मूल्य पाउने गुञ्जाईस बढी रहन्छ । तर यति बेला समस्यामा परेका काउली उत्पादक किसानहरु बजारको अभावका कारणले आफ्नै अगाडी अथक परिश्रम गरेर उत्पादन गरेको काउली कुहिएको टुलुटुलु हेरेर बस्न विवश भएका छन् । य स्तो अवस्था रहिरने हो भने उनीहरुमा आफ्नै पेशाप्रतिको बितृष्णा जागृत नहोला भन्न सकिन्न । किसानले गरेको उत्पादनको समर्थन मूल्य तोकेर भएपनि किन्ने व्यवस्थाप्रति सरकारले चासो लिने हो भने यसप्रकारको निराशाजन्य अवस्था पक्कै पनि रहने थिएन होला ।
अतः यस विषयप्रति सरकारले ध्यान दिनुपर्ने आवश्यक छ । अनि मात्र किसानको उत्साहलाई जोगाएर राख्न सकिने छ ।