• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

सप्तकोसीका चार दलद्वारा नगरप्रमुखलाई बुझाइयो ज्ञापनपत्र

सप्तकोसीका चार दलद्वारा नगरप्रमुखलाई बुझाइयो ज्ञापनपत्र
शिवप्रसाद आचार्य
फत्तेपुर, २४ पुस । 
सप्तकोसी नगरपालिकामा बेथिति बढेको भन्दै नेकपा एमाले सहित चार दलद्वारा नगरप्रमुखलाई बुधबार  ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख कृष्ण प्रसाद ढकाललाई  विभिन्न  माँग सहितको १२ बुँदे ज्ञापन पत्र बुझाएको हो ।     
नेकपा एमालेका नगर अध्यक्ष पारस दाहाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष जय प्रसाद ढुंगाना ,राष्ट्रिय  स्वतन्त्र पार्टीका अध्यक्ष मान प्रसाद लुइँटेल र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नगर अध्यक्ष गुणराज कोइरालाद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्रमा नगरपालिकाले गरेका कार्यहरू सन्तोषजनक र पारदर्शिता नभएको उल्लेख गरिएको छ। 
नगरको  प्रशासनिक तथा विकासिय कार्यहरूमा  जवाफदेहिता नभएको भनी टिप्पणी गरिएको ज्ञापन पत्रमा  नगर प्रमुख  कृष्ण प्रसाद ढकालले बाढी पीडितका लागि आएको राहत सामग्री मनोमानी  किसिमले वितरण    गरेको जनाइएको छ। 
ज्ञापनपत्रमा नगरको स्वास्थ्य क्षेत्रमा राज्यद्वारा तोकिएका औषधिहरू तत्काल उपलब्ध गराउनु पर्ने ,वडा नं १ मा रहेको स्वास्थ्य चौकीमा  रहेको भिडियो एक्सरे र अन्य उपकरणहरु सञ्चालनमा ल्याउनु पर्ने , जटिल किसिमका बिरामीहरुका लागि राज्यले उपलब्ध गराउँदै आएको सुविधा रकम सहज रुपमा उपलब्ध गराउनु पर्ने , नगर भित्रका  विद्यालयमा शैक्षिक  गतिविधि खस्किँदै गएको,दिवा खाजामा पारदर्शिता नभएको जस्ता कुराहरू उल्लेख छन्। 
नगर भित्र  निर्माण भइरहेका नगर अस्पताल,नगरको प्रशासनिक भवन निर्माण सम्पन्न  नभई सञ्चालनमा ल्याउनु ,निर्माणको खर्च विवरण सार्वजानिक  गर्न चार दलले माग गरेका छन्।
यसैगरी नगर भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई गुडिरहेको समयमा रोकी सवारी शुल्क उठाउनु गैरकानुनी रहेको जनाउँदै ज्ञापन पत्रमा कर असुली रोक्न माग गरेका छन्।
नगरपालिकाले प्रयोग गर्ने सवारी साधनमा ,इन्धन, मर्मत जस्ता कार्यहरूमा जनप्रतिनिधि  लापरवाही तरिकाले  प्रयोग गर्ने गरेको हुनाले यसको रोकथाम गर्न ज्ञापन पत्रमा माग गरिएको छ।  नगरपालिकाको बिकासिय बजेटहरु  फ्रिज हुँदै गएकोले नगरपालिका विकासको दृष्टिमा थप पछि पर्ने हुनाले के कति कारणले कार्यान्वयन हुन सकेन भन्दै चार दले कारण माग गरेका छन् ।
चार दलद्वारा जारी ज्ञापन पत्र बुझ्दै  नगर प्रमुख कृष्ण प्रसाद ढकालले चार दलद्वारा  नगरपालिका लाई सजग गराउन  र नगरको विकासमा  चासो सहित ज्ञापन पत्र दिएकोमा  नगरको यसमा ध्यानाकर्षण भएको भन्दै यसको अक्षरस पालनामा नगर कटिबद्ध रहेको बताए।