शिवप्रसाद आचार्य
राजविराज, २४ पुस ।
केही दिनयता बढेको चिसोका कारण सप्तरीको सप्तकोशी नगरपालिकाका विद्यालयहरुमा विदा दिइएको छ । चिसोले बालबालिकाहरुलाई विद्यालय जान कठिन भएको भन्दै नगरपालिका भित्रका विद्यालयहरु दुई दिनका लागि बिदा दिइएको हो ।
बुधबार नगरपालिकामा बसेको नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुको प्रतिनिधिहरुको संयुक्त बैठकले बिहीवार र शुक्रबार नगरपालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले जानकारी दिए।
विगत केही दिन देखि बढ्दै गएको चिसो तथा शितलहरीका कारण विद्यालयमा पठनपाठन असहज भएको र मौसम प्रतिकूल हुँदै गएकोले नगरका सम्पुर्ण विद्यालयहरुमा मंसिर २५ र २६ गतेका लागि विदा दिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए।
उनले वर्षे बिदाबाट काटिने गरी विद्यालयहरुमा विदा दिइएको जानकारी दिए ।
यसैगरी अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले समेत चारदिन विद्यालयमा विदा दिइएको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बिहिवार एक सूचना जारी गर्दै पुस २५- २९ सम्म विदा दिएको जानकारी गराएका छन् ।