नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङले तामाङ जागरण तथा ल्होछार साँस्कृतिक अभियानले तामाङ समुदायलाई एकताबद्ध बनाएको बताएका छन् । नेपाल तामाङ घेदुङ सप्तरीद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा सोमबार आयोजित जागरण अभियानल्लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि घिसिङ । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै घिसिङले जिल्ला घेदुङले स्थानीय तहमा संचालन गरेको तामाङ जागरण तथा ल्होछार साँस्कृतिक अभियान प्रभावकरी भएको बताए । अभियानले तामाङ समुदायलाई एकजुट बनाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले जिल्ला घेदुङको प्रशंसा गरे ।
अभियानलाई सार्थकता तुल्याउन जिल्लाबासी तामाङलाई सक्रियता पूर्वक अभियानमा जुट्न आग्रह गर्दै घिसिङले अभियानको उदेश्य प्राप्तिका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङले ल्होछार पर्वलाई हर्सोल्लाहासकासाथ मनाउन आग्रह गरे । अभियानको उदेश्य बारे प्रकाश पार्दै उनले अभियानको गम्भीरतालाई बुझिदिन भन्दै तामाङ समुदायको ध्यानाकर्षण गराए ।
अभियानले तामाङ समुदायको संस्कृति संरक्षण, सम्बर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले तामाङ समुदायलाई सोनाम ल्होछारको पहिलो दिनदेखि पाँचदिनसम्म मान्यजनको हातबाट टीका खदा ग्रहण गरि ल्होछार मनाउन आग्रह गरे ।
अभियान अन्तर्गत साँस्कृतिक कार्यक्रम तथा ल्होछार पर्व सम्बन्धि विज्ञहरुबाट विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान सिंदन तामाङले बताए ।
तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व २८६१ औं सोनाम डुल ल्होछार ( सर्प) बर्ष माघ १७ गते परेको हुँदा तामाङ समुदायलाई ल्होछारको विशेषता र महत्व बारे जनजागरण गराउने उदेश्यले ल्होछार साँस्कृतिक जागरण अभियान संचालनमा ल्याएको उनले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार पुस १८ गते सप्तकोशी नगरपालिकाबाट सुरु भएको अभियान २९ गते सुरुङ्गा नगरपालिका २ स्थित बाउन्न कोल्टेमा पुगेर समापन हुने छ ।
अभियान अन्तर्गत पुस १८ गते सप्तकोशी नगरपालिका, १९ गते कञ्चनरुप नगरपालिका, पुस २० गते अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ मोहनपुर, २२ गते अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजार , पुस २३ गते रुपनी गाउँपालिका, पुस २५ गते शम्भुनाथ नगरपालिका, पुस २६ गते राजविराज नगरपालिका, पुस २७ गते खडक नगरपालिका, पुस २९ गते सुरुङ्गा नगरपालिकामा अभियान संचालन हुने अध्यक्ष तामाङले बताए ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी बजारमा वडा नम्बर २ की अध्यक्ष सरस्वती गोलेको अध्यक्षतामा आयोजित जागरण अभियानमा घेदुङका पूर्व केन्द्रीय सदस्य मेख बहादुर बम्जन, खड्ग बहादुर तामाङ,जिल्ला सचिब डिक बहादुर मोक्तान, जिल्ला सदस्य अशोक कुमार योन्जन, लगुमाया तामाङ, मान बहादुर योन्जन , सीता बम्जन तामाङ, थारु कल्याणकारीणी सभा सप्तरीका सचिब मिलन चौधरी, नेपाल तामाङ विद्यार्थी घेदुङ मधेस प्रदेशकी उपाध्यक्ष इन्दिरा योन्जन ,घेदुङ्का पूर्व जिल्ला सह सचिब संसारी योन्जन तामाङ, नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ, राजविराज नगरपालिका अध्यक्ष देवेन्द्र घिसिङ,अग्नीसाइर कृष्णासवरन अध्यक्ष भक्त बहादुर तामाङ, रुपनी गाउँपालिकाकी अध्यक्ष भद्र कुमारी लामा, शम्भुनाथ नगरपालिका अध्यक्ष पदम घिसिङ लगायतका विभिन्न स्थानीय तहका अध्यक्षहरु तथा तामाङ अगुवाहरुको उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सरिता तामाङले गरिन ।