सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर क्याम्पस र विद्यार्थीहरुको समूह ‘रुपनगर युथ स्क्वाड’ अहिले प्लाष्टिक निर्मित फोहर संकलनका साथ स्वच्छ वातावरण निर्माणको अभियानमा जुटेका छन् ।
जथाभावी फालिएका प्लाष्टिकका कारण वातावरणमा पुगिरहेको क्षति कृषि उत्पादकत्वको नोक्सानी लगायतका विभिन्न समस्यालाई मध्यनजर गर्दै उनीहरु यस अभियानमा जुटेका हुन् । भविष्य निर्माणका लागि अध्ययनरत रहेको अवस्थामै समाज सुधार र चेतना जगाउने उनीहरुको यो कार्य अरुका लागि समेत अनुकरणीय बनेको मान्न सकिन्छ । संकलित फोहरजन्य प्लाष्टिक नष्ट गर्दा पनि वातावरणमा त्यसको दुष्प्रभाव रहिरहने भएका कारण उनीहरुले संकलन गरेका प्लाष्टिकबाट ‘इको ब्रिक’ निर्माण गर्न सुरु गरेका छन् । फालेको प्लाष्टिक पनि तह लगाउने, वातावरण विनाशबाट पनि जोगिने तथा तयार गरिएको ‘इको ब्रिक’ बाट बस्नका लागि बेञ्च तथा फूलबारी सजावटको सामग्रीका रुपमा प्रयोग गर्न सकिने भएका कारण यस्तो रचनात्मक कामलाई अन्यत्र पनि विस्तार गर्न सकियो भने यसबाट फाइदा पनि लिन सकिन्छ भन्ने कुरा दोहो¥याईरहन नपर्ला ।
अनियन्त्रित रुपमा बढ्दै गएको प्लाष्टिकको प्रयोगका कारण वातावरण विग्रनेदेखि लिएर अन्य विभिन्न समस्याहरु खडा हुन थालेका छन् । क्याम्पसमा अध्ययनका क्रममा रहेका विद्यार्थीहरुले थालनी गरेको यस्तो अभियानलाई अन्य शिक्षण संस्थामा समेत विस्तारै गर्दै लैजान सके यसबाट व्यक्ति–व्यक्तिमा प्लाष्टिकको प्रयोगबाट हुने नोक्सानी तथा त्यसलाई सुरक्षित रुपले विसर्जन गर्ने तरिकाका बारेमा जानकारी पुग्नेछ ।