अग्नीसाईर कृष्णसवरण गाउँपालिका स्थित अमसोत कृषि सहकारी संस्थामा बुधबार आईपुगेको रसायनिक मल बिहीबार कार्यालय खुलेको केही समयमै समाप्त भयो ।
थोरै परिमाणमा मल दिएका कारण २५ केजीका दरले वितरण गर्दा पनि धेरै किसानहरुले रित्तो हात नै फर्कनु प¥यो । जसले मल पाए उनीहरुले आफ्नो आवश्यकता भन्दा अति नै कम परिमाणमा मल पाएको भन्दै असन्तुष्टी पोख्दै थिए । समस्या अग्नीसाईर कृष्णसवरण गाउँपालिका मात्रको होईन, सप्तरीका सबै जस्तो गाउँमा अहिले किसानले यस्तै समस्या भोग्दै आएका छन् । गहुँ लगाईसकेको भएपनि मल अभावका कारण वाली विग्रेला भनी उनीहरुलाई ठूलो चिन्ता छ । सरकारले गाउँ–गाउँमा मल पठाईसकेको भन्ने दावी गरे पनि आवश्यकताको आधा परिमाणमा समेत मल नपाईरहेको अवस्था छ । वाली लगाउने समयमा मल नपाउँदा गरेको मिहिनेत र लगानी खेर जाने सम्भावना बढी रहने भएका कारणले पनि किसानको चिन्ता बढ्नु स्वाभाविक नै हो । रसायनिक मलको अभाव यस पटक मात्र भएको पनि होईन । हरेक वर्ष सिजनमा किसानले मलका लागि यसरी नै सास्ती खेप्नु परिरहेको छ । मल अभावका बारेमा सप्तरीका स्थानीय तहका प्रमुखहरुले चासो लिएर कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममै पुगी अनुगमन समेत गरेका छन् ।
उनीहरुले स्टकमा रहेको मल तत्कालै वितरणको व्यवस्था मिलाउनका लागि दवाव दिएपछि केही दिन गाउँका सहकारी संस्थाहरुले वितरण सुचारु पनि गरेका थिए । तर किसानलाई जति आवश्यकता छ त्यसको आधा परिमाणमा पनि रसायनिक मल प्राप्त हुन नसक्नाले ‘कनिका छरे झै’ मल वितरणले समस्याको समाधान सम्भव छैन । शिघ्र थप रसायनिक मल झिकाई समस्याको समाधान गर्न जरुरी छ ।