सप्तरीमा लागू औषधको कारोबार तथा सेवन बढ्दो रहेतापनि त्यसको नियन्त्रण प्रभावकारी रुपमा हुन नसकेको भन्दै जनस्तरबाट टिकाटिप्पणी उठने गरेको छ ।
प्रमुख रुपमा गाँजाको सेवन बढी हुने गरेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । सुनसान स्थान, खेलमैदान, बन्द अवस्थामा रहेका विद्यालयका चउरलाई दुव्र्यसनीले गाँजा सेवनको स्थलका रुपमा प्रयोग गर्न थालेको देखिन्छ । ती ठाउँमा प्रहरीले निगरानी बढाउन नसकेका कारणले नै यस्तो विकृति बढ्ने गरेको सरोकारवालाहरु बताउँछन् । गाँजा सेवनकर्ताहरु बढेका छन् भने त्यसको बिक्री वितरण गर्ने गिरोह पनि सक्रिय छ भनेर बुझ्नुपर्ने हुन्छ । युवालाई कुलतमा लगाएर भविष्य विगार्ने यस्तो अवैध काम रोकिएन भने यसले मुलुकलाई नै क्षति पुग्नेमा आशंका नरहला । हुन त प्रहरीले ठूला–ठूला परिमाणमा गाँजा पक्रदै पनि आएको छ । तस्करीका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको गाँजा हालै पनि सप्तरी प्रहरीले नियन्त्रणमा लिएकै हो । यसैगरी लागू औषध पनि नियन्त्रणमा लिने र त्यसमा संलग्नमाथि कारवाही चलाउनेमा प्रहरीको सक्रियता नरहेको भन्न मिल्दैन ।
सीमावर्ती क्षेत्र तथा त्यस आपसपासका स्थानबाट यस्ता वस्तु नियन्त्रणमा लिने गरिएको भएपनि जिल्ला भित्रैका नगर तथा गाउँबस्तीमा गाँजा सेवनकर्ताहरुको गतिविधि अहिले पनि कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै खुद्रा रुपले गाँजा बेच्ने र किनेर सेवन गर्ने जस्तो गतिविधि प्रति पनि निगरानी बढाउनु पर्ने आवश्यक छ ।