हतार–हतार खुला दिसा मुक्ता घोषणा गरिएका सप्तरीमा अहिले पनि खुला सौच गर्ने क्रम रोकिएको छैन । सार्वजनिक सौचालय बेहाल अवस्थामा रहेका कारण त्यसको प्रयोग गर्न नसकिने अवस्था अधिकांशको छ ।
उसै पनि सौचालय बनाउन सानोतिनो खर्चबाट सम्भव हुन्छ भन्न सकिन्न । हुने खानेले त ठूलो रकम लगानी गरेर आधुनिक सुविधा युक्त सौचालय बनाउलान । तर जसको सामान्य खर्चमा पनि सौचालय निर्माण गर्न सक्ने सामथ्र्य छैन, उनीहरुले सार्वजनिक सौचालय प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । सप्तरीमा यसरी सार्वजनिक रुपमा प्रयोग गर्न सकिने सौचालयहरुको अवस्था प्रयोग गर्न लायक नै नरहेको भनि टिकाटिप्पणी हुने क्रम अहिले पनि चलि नै रहेको छ । अन्य स्थानको के कुरा गर्नु धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने भनी चर्चामा आउने गरेको छिन्नमस्ता शक्तिपीठमा रहेका सौचालयहरुको अवस्था समेत यतिबेला बेहाल छ ।
दर्शनका लागि आउने सर्वसाधारणका लागि पनि सौचालय आवश्यक रहन्छ । तर छिन्नमस्ता शक्तिपीठमा सर्वसाधारणका लागि प्रयोग गर्न भनि बनाईएका सौचालयहरुमा लाखौं रुपियाँ खर्च भईसकेको छ । तर ती अहिले पनि बेहालमा नै छन् । बाहिरबाट आएका शक्तिपीठका दर्शनार्थीले यस्ता फोहर सौचालय प्रयोग गर्नुपर्दा कस्तो धारणा बनाउलान?