एनपीएलमा विजय हासिल गरेको जनकपुर टिम आफुले कब्जा जमाएको शिल्डसहित खुशियाली बाँड्न सोमबार सप्तरी आईपुगेको छ ।
मधेशमा पनि उत्कृष्ट खेलाडीहरु छन् भन्ने कुरा उक्त क्रिकेट प्रतियोगितामा प्रमाणितै गरेर देखाएको जनकपुर टिमले मधेश प्रदेशका अन्य जिल्लामा समेत पुगेर विजयोत्सव मनाएको छ । खेलाडीले त आफ्नो खेलप्रतिको समर्पणका माध्यमबाट यस्तो जीत हासिल गरेर देखाएका छन् । तर मधेश प्रदेशका खेलाडीहरुमा अझै ऊर्जा जगाउन तथा नयाँ नयाँ खेलाडी उत्पादनका लागि सरकारी स्तरबाट पनि गरिनु पर्ने काम अझै धेरै गर्न बाँकी नै छ । प्रदेशका जिल्लाहरुमा स्तरीय खेलमैदानको व्यवस्था, विभिन्न प्रतियोगिताको आयोजना तथा उदीयमान खेलाडीका लागि प्रशिक्षणको व्यवस्था हुनुपर्ने माग उठ्दै आएको छ । यसका साथसाथै समर्पित खेलाडीहरुमा अझै उत्प्रेरणा जगाउने खालका सुविधा लगायत अन्य आवश्यक व्यवस्था गर्न सकियो भने यसले खेलकूदको भविष्यलाई अझै उज्जवल तुल्याउने कुरामा दुई मत नहोला । खेलकूदमा लागेर उर्वर समय विताईसकेका खेलाडीहरुको योगदानको सम्मानस्वरुप उनीहरुलाई समेटेर अघि बढ्न सकियो भने यसले ‘खेलकुदमा पनि भविष्य छ’ भन्ने कुराको सन्देश प्रवाह हुनेछ ।
खेलाडीहरुका लागि सुविधा बढाउनका लागि सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने आवश्यकता त छँदैछ । यस सँगै मुलुककै प्रसिद्धिका लागि उनीहरुले पु¥याएको योगदानलाई कसरी जीवन्त राख्न सकिन्छ भन्ने कुरामा पनि ध्यान पु¥याउन सकियो भने खेलाडीका साथसाथै खेल प्रेमीहरुका लागि पनि यो खुशीयालीको विषय बन्नेछ ।