• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीका अधिकांश सामूदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको अवस्था छ । सबै बालवालिकालाई विद्यालय पु¥याउने लक्ष्यका साथ देशव्यापी रुपमै सञ्चालन गरिएको भर्ना अभियान सप्तरीमा पनि आयोजना गरियो ।
यसरी भर्ना भएका मध्येका कतिपय वालवालिकाको अभिभावकत्व उच्चपदस्थले लिने काम पनि गरियो । तर अभियानै चलाएर यसरी भर्ना भएका वालवालिकाहरुको विद्यालयमा कस्तो उपस्थिति छ भन्ने बारेमा कसैले न चासो लिएका छन् न त खोजखबर नै हुने गरेको छ । कागजती रुपमा यस्ता विद्यालयहरुमा विद्यार्थी संख्या राम्रै देख्न पाईएला तर विद्यालय चलिरहेको अवस्थामा गएर हेर्ने हो भने विद्यार्थीको उपस्थिति न्यून पाईन्छ कि त्यस आधारमा उक्त विद्यालयकै भविष्य कस्तो रहला भनी सोच्न बाध्य हुनुपर्ने अवस्था आउने गरेको छ । पाँच कक्षासम्म पढाई हुने भनिएको विद्यालयमा विद्यार्थीको उपस्थिति ४० पनि नपुगिरहेको अवस्था सप्तरीका ग्रामीण भेगतिर रहेका अनेकौं विद्यालयहरुमा देख्न सकिन्छ । विद्यार्थीलाई लक्षित गरी विद्यालयमा पठाईने खाजा खर्च लगायतका अन्य सुविधा वापतको रकम बढी प्राप्त होस् भने धेयका साथ उपस्थितिको अनुपातमा वालवालिकाको विवरण बढाएर पढाउने गरिन्छ । तर सबै वालवालिकाका लागि शिक्षा प्रदान गर्ने सरकारी लक्ष्यलाई यस्तो कागजी विवरणले मात्रै पूरा गर्न नसक्ने कुरा घामजत्तिकै छर्ल· छ । जिल्लाका कैयौं विद्यालयका कक्षा कोठामा अझै पनि पंखाको अभाव छ । प्रचण्ड गर्मीमा टिनको छानो भएको कक्षा कोठामा वस्तु पर्दा गर्मीले विद्यार्थी बेहोस् नै हुनु पर्ने अवस्था छ । यसैगरी विद्यार्थी संख्या राम्रो रहेको विद्यालयमा पनि पिउने पानी तथा सौचालयको व्यवस्था पर्याप्त रहेको छैन । कतै कक्षा कोठा अभावले गर्दा एकै कोठामा बहुकक्षा प्रणाली सञ्चालनको बाध्यता छ । विद्यालयको दुरावस्थामा सुधार गर्ने नियमित पठनपाठन भए नभएका बारेमा अनुगमन गर्ने तथा उचित शैक्षिक वातावरण तयार गर्ने दायित्व सम्बन्धित स्थानीय तहको नै हो । तर अधिकांश विद्यालयमा स्थानीय तहबाट यस्तो अनुगमन नभईरहेको अवस्था छ ।
विद्यालयमा वालवालिका भर्ना भएर मात्र पुग्दैन, उनीहरुको उपस्थिति पनि उत्तिकै आवश्यक रहने कुरा निर्विवाद छ । भर्ना भएर पनि बीचमै कक्षा छोड्ने (ड्रप आउट) को समस्या छ भने त्यसको कारण के हो? भन्ने बारेमा सोध खोज गर्ने, समस्या समाधानका साथै नियमित बालबालिकालाई विद्यालय पठाउनका लागि अभिभावकहरुलाई घचघच्याउने जस्ता प्रयास जारी नराख्ने हो भने विद्यालयमा बालबालिकाको उपस्थिति सुक्दै जाने अवस्था प्रति आश्चर्य नमाने हुन्छ ।