ज्येष्ठ नागरिक दिवसको अवसर पारेर विहीबार राजविराजमा पनि एक कार्यक्रमको आयोजना गरी केही ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
वर्ष दिनमा एक पटक आउने यस दिवसमा उनीहरुलाई सम्मान गरिनुलाई सकारात्मक मान्नु पर्छ । तर यतिले मात्र ज्येष्ठ नागरिकहरु प्रतिको हाम्रो दायित्व पूरा भईहाल्छ भन्ने चाहीँ होईन । ज्येष्ठ नागरिकहरुले भोग्नु परेका समस्या अनेका छन् । प्रथमत मुलुकबाट युवाहरु विदेश पलायनको क्रम दिनानुदिन बढ्दै गईरहेको छ । युवाहरुले मुलुकमा भविष्य नदेखेर आफ्नो भविष्य तथा रोजगारीको खोजिमा यसरी आकर्षित भईरहँदा सरकारले आफ्नै मुलुकमा भविष्य छ भन्ने खालको आशा जगाउने गरी काम गर्नु पर्ने जिम्मेवारी त छ । तर व्यवहारमा हेर्दा भने त्यस अनुरुपको काम हुन नसकेको तीतो यथार्थ छ । यूवा विदेश पलायनका कारणले धेरै घरमा यति बेला बृद्धबृद्धा मात्रको बसोबास रहेको अवस्था छ । बुढेसकालका सहारा मानिएका छोराछोरी विदेशिन थाले पछि घर रुघेर बसेका वृद्ध बाबु आमाको मनमा कस्तो महशुस हुँदो होला? सोच्नै पर्ने विषय बनेको छ । तसर्थ यूवाका लागि उपयुक्त शिक्षा र रोजगारीको व्यवस्था गरी वृद्ध बाबुआमाका सन्तानहरुलाई पनि आफ्नै मुलुकमा टिकाउने गरी कार्यक्रम ल्याउनु पर्ने अहिलेको सख्त आवश्यक हो । ज्येष्ठ नागरिक (उमेरले पाका) हरुका पनि आफ्नै खालका चाहना र रहर हुन सक्दछन् । एक क्षण भएपनि आफ्ना उमेर समूहका ज्येष्ठ नागरिकहरु एक ठाउँमा भेला हुने मनका भावना र अनुभव साटासाट गर्ने उनीहरुमा चाहना हुन सक्दछ । सरकारले उनीहरुका लागि पनि यस प्रकारको भेलास्थल बनाई आवश्यक पूर्वाधार तयारी गरीदिए उनीहरुलाई पनि समय विताउन सहज हुनेछ । कति मात्र होईन, विरामी पर्दा उपचारको व्यवस्था तथा सेवाग्राहीका रुपमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा अरु सरह लाईनमा बस्ने परिपाटी भन्दा पनि उनीहरुको कामलाई प्राथमिकतामा राखेर गरिदिने व्यवस्था भएमा उनीहरुको सास्ती भोग्नुपर्ने अवस्थाबाट मुक्ति मिल्नेछ । कतिपय सरकारी कार्यालयहरुमा यस प्रकारको व्यवस्था नभएको चाहीँ होईन । तर नभएकामा यस्तो व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ । सार्वजनिक यातायातका साधनहरुमा ज्येष्ठ नागरिकहरुलाई सिटको व्यवस्था तथा भाडामा दिईने सहुलियतलाई अनिवार्य पालनाको आवश्यकता छ ।
समग्रमा भन्नु पर्दा ज्येष्ठ नागरिक आफ्नो सक्रिय जीवन यसै मुलुक र माटोमा विताएका अनुभवी नागरिक हुन् । उनीहरुको धेरै अनुभव नयाँ पुस्ताका लागि अनुकरणीय र ज्ञानको विषय पनि बन्न सक्छ । भनाई पनि छ ‘कुरा सुन्नु पाकाको’ जीवित इतिहासकै रुपमा रहेका ज्येष्ठ नागरिकलाई सम्मानका साथ उनीहरुका समस्याप्रति सरकारदेखि सरोकारवाला सबै पक्षले चासो साथ दृष्टि पु¥याउन आवश्यक छ ।