• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेती गर्ने समयमा मलखादको अभाव व्यहोर्नु पर्ने किसानहरुको नियति जस्तै बनेको अवस्था छ । राजनीतिक दलका उम्मेदवारले निर्वाचनका समयमा यस विषयलाई चुनावी मुद्दा नै बनाउँदै आएका पनि छन् ।
चुनाव सम्पन्न हुन्छ, नेता जितेर सत्ताको भागडोर सम्हाल्न पुग्छन् तर किसानका समस्या भने जस्ताको त्यस्तै रहने गरेको अवस्था छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानलाई किसानका यिनै जीवन्त रहेका समस्याहरुले उजागर गर्दै आएका छन् भन्दा फरक नपर्ला । बहुसंख्यक नेपाली जनताको जीवीकोपार्जनको मूल आधार भनेकै कृषि हो । किसानहरु निर्वाचनका समयमा मत दिने ‘मतदाता’ पनि हुन् । यिनै मतदाता समक्ष व्यक्त गरिने प्रतिबद्धतामा ‘रसायनिक मलको समूचित व्यवस्था गर्ने’ भन्ने वाक्यांश नै बढी प्रयोग गरिँदै आएको छ । तर सबै जसो दलका उम्मेदवार, नेता, सरकारका मन्त्री समेतले गर्दै आएको प्रतिबद्धताका वावजुद पनि पूरा हुन नसकेको विषयका रुपमा पनि यही रसानिक मल नै रहने गरेको छ । दलका नेता आफै सत्तामा छन्, तर रसायनिक मलको व्यवस्था गर्न मागसहित उनकै पार्टीका नेता, कार्यकर्ताले जुलुस प्रर्दशन पनि गर्छन् । गरेको प्रतिबद्धतालाई प्राथमिकता क्रममा राखेर पूरा गर्नेतिर लाग्ने हो भने न मल माग्दै जुलुस निकाल्ने अवस्था आउँछ न त मल खोज्दै हण्डर खानु पर्ने किसानहरुको बाध्यता नै रहन्छ । त्यसैले गरेको प्रतिबद्धतालाई कार्यान्वयनतिर लाग्नु पर्ने भन्दा अन्य कुरामा बरालिएर समस्यालाई पालेर नै राखिरहने हो भने यसले जनतामा वितृष्णा जाग्दछ भन्ने कुरालाई पहिले ध्यानमा राख्न जरुरी छ ।
रसायनिक मलको माग खेतिपातीको समयमा हुन्छ नै । त्यस अगावै गाउँ–गाउँमा रसायनिक मल पुग्ने गरी व्यवस्था मिलाउने तर्फ ध्यान दिने हो भने न मलका लागि आन्दोलन गर्नु पर्छ न त जनतामा आक्रोश बढ्छ । ध्यान दिनु पर्ने समयमा गरिएको वेवास्ताका कारण नै अहिले मलको अभाव उत्पन्न भएकोमा शंका नहोला । यही अभावलाई भजाएर त्यलाई राजनीतिक रंगमा ढाल्नेतिर लाग्नु भन्दा पनि कार्यशैली सुधारतर्फ लागेर किसानका समस्या हल गर्नेतिर लाग्नु नै उत्तम हुनेछ ।