• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

थ्रेसर मेसिन र धान व्यापारी खेतमा पुग्दा किसान उत्साहित

थ्रेसर मेसिन र धान व्यापारी खेतमा पुग्दा किसान उत्साहित
रामनाथ यादव
राजविराज , ०३  पुस ।
धान खेतमा दाउनी गर्ने थ्रेसर मेसिन र धान खरिदका लागि व्यापारी पुग्न थालेपछी किसानहरु उत्साहित भएका छन् । मेसिन प्रयोग गर्दा समयको बचत हुने तथा व्यापारी खेतमै आउँदा धान विक्री गर्न सहज हुने भएपछी किसानहरू उत्साहित देखिएका हुन् ।
खेतमै धान विक्री गर्दै किसानहरु । फोटो : न्यूज टुडे
जन-मजदुरकाे अभाव खेपिरहेका किसानको खेतमा धान दाउनी गर्ने थ्रेसर मेसिन र धान व्यापारी पुगेपछि खेती गर्न उत्साह जागेको तिलाठी कोइलाडी गाउँपालिकाका किसानहरु बताउछन्  । जनमजदुर र समयकाे अभावमा गँहु खेती लगाउने चटारो भएको बेला धानका बिटा बाँधेर खेतमै थ्रेसरले धान दाउनी गर्न पाउँदा सुलभ भएकाे महादेवा गाउँपालिका ५ का फेकु यादवले बताए । अहिले यो मेशिनका कारण पाकेको धान दाउनी गर्न सजिलो र छिटो पनि भएको उनले जानकारी दिए ।
थ्रेसरको प्रयोगले  बर्षेणी खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको थ्रेसार संचालक चुनचुन यादवले  बताए । धान दाउनी मेसिनबाट हुन्छ भन्दा नपत्याउने किसान अहिले आफैँ प्रयोगकर्ता भएको उनले सुनाए । खेतीको काममा जनशक्ति कम हुदै गएका बेला यो मेसिनको प्रयोगले सजिलो र छिटो भएको भन्दै स्थानीय किसानहरुले खुशी व्यक्त गरे ।
‘अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बरले  थ्रेसर मेसिनको प्रयोगकर्ता बढेका छन्’, थ्रेसर संचालक यादवले भने, यो वर्ष एक सय जना किसानको धान झारिसकेको छु।’ 
अहिले किसानहरुले गाेरु नपाल्ने भएको हुँदा धान दाउनी गर्न मेसिनकाे प्रयाेगले सजिलो र छिटो भएको हुदा थ्रेसरवाट धान दाउनी गर्नेतर्फ किसानहरु आकर्षित भएको किसान देवेन्द्र प्रसाद यादवले वताए ।
खेती वढी गर्ने तर काम गर्ने जनशक्ति कम भएका कृषकले बढी थ्रेसर मेसिनको माग गर्ने उनले बताए । उनका अनुसार थ्रेसरले एक घण्टामा आठ देखि दश कट्ठासम्मको धान दाउनी गर्न  सकिन्छ ।
आधुनिक प्रविधिको विकाससँगै विकसित भएको कृषि प्रविधिको प्रयोगले खेती गर्नदेखि बाली थन्क्याउन समेत सहज भएको राजगढ गाउँपालिका-३ का किसान राजेन्द्र यादवले बताए । गाउँगाउँमा भित्रिएको मेशिनले खेती गर्न सजिलो बनाएको उनको भनाइ छ । गत वर्षदेखि जोत्न ट्र्याक्टर, धान र गहुँबाली दाउनी गर्न थ्रेसरको प्रयोग गर्दै आइरहेकाे उनले वताए ।
‘पहिले धान राेपाई तथा धान दाउनी गर्न जनमजदुरकाे अभाव हुदैनथ्यो तर अहिले मजदुरकाे अभावका कारण मेसिनवाट नै  दाउनी गर्न किसानहरु वढी केन्द्रित भएको छ’ उनले भने ।
‘गाउँमा काम गर्ने मजदुर पाउँनै मुश्किल रहेकाे छ। पाइहाले पनि ज्याला महँगो दिनुपर्छ । समय पनि धेरै लाग्छ’उनले भने ‘थ्रेसरवाट  बिनाझन्झट धान घरमा  भित्र्याउन सजिलो भएकाे छ।’
खेताला लगाउँदा लामो समय लाग्ने तथा जनशक्ति धेरै आवश्यक पर्ने भएकाले मेसिनप्रति सबैको आर्कषण बढेको उनले बताए । थ्रेसरले धान झार्न सजिलो भए पनि किसानले अलि महँगो शुल्क तिर्नु परेको उनको गुनासो छ । 
सप्तरीकाे विभिन्न गाउँपालिका तथा नगरपालिकाका किसानले पनि कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । बाटो भएका फाँटमा ट्र्याक्टरले जोत्ने र ठूलो थ्रेसर मेसिनले धान दाउनी गर्दछन् । अहिले ट्र्याक्टर जाने बाटो नभएका खेतमा समेत प्रयोग हुन थालेको छ ।
आफूले पनि एक बिघा खेतमा लगाएको धान दाउनी गर्न थ्रेसर मेसिनको प्रयोग गरेको मंसापुरका किसान श्यामसुन्दर मण्डलले बताए । 
राजविराज नगरपालिका १४ का थ्रेसर संचालक आन्नदी साहले सिजनमा धान झार्न भ्याइनभ्याइ हुने बताए ।महादेवा गाउँपालिका ६ का सतन मण्डलले विशेष गरी कात्तिक र मङ्सिर महिना बिहान–बेलुकासम्म धान दाउनी गर्ने चटारो हुने बताए । 
उनका अनुसार पछिल्लो समय जिल्लाका ५० प्रतिशत कृषक थ्रेसरको प्रयोगकर्ता भएका छन् । बाँकीले परम्परागत रुपमा खेताला लगाएर तथा अर्मपर्म गरेर धान भित्र्याउने गर्दछन् ।
स्थानीय धान व्यापारी सूर्यनारायण यादवले पहिले घर घरमा खुद्रा धान वाेरा लिनु पर्ने तर अहिले खेत खेतमा टेक्टर लिएर पुग्दा दुई जना किसानकाे खेतमा नै टेक्टर भर्ने गरेकाे वताए । धान खेतमा विक्री गर्दा भाडा काट्ने गर्दा अलिक घटा भएकाे एक किसानले वताए ।
कृषि प्रविधिको विस्तार भएकाले सुगम क्षेत्रमा परम्परागत खेती विस्तारै लोप हुने अवस्थामा छ । ट्र्याक्टर, थ्रेसरजस्ता कृषि प्रविधिको प्रयोग बढ्दा जोत्ने गोरु पहिला जसरी पाइन छाडेको रामदेव साहले बताए ।
‘कृषि प्रविधिको प्रयोगले काम छिटो, खर्च कम, समयको बचत हुन्छ । खेताला खोज्नुपर्ने झन्झट हुँदैन । यसै कारण सुगम क्षेत्रमा गोरु, हलो लोप हुँदै गएको छ ।’ उनले भने ‘बाटो नभएका ग्रामीण भेगमा पनि हाते ट्र्याक्टर, तथा हाते थ्रेसरलगायतका कृषि प्रविधिको विस्तार हुँदै गएको छ ।’ 
कृषि प्रविधिको प्रयोगका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले कृषकलाई समय समयमा अनुदानमा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।