• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रमुख जिल्ला अधिकारी भोला दाहाल आएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि भिडभाड अस्तव्यस्त अवस्थालाई सुधार्न चासो लिएपछि अहिले त्यहाँको अवस्था सुधार देखिएको छ । तर सोही कार्यालयको दक्षिणतर्फको सडक पेटीमा फलफूल लगायतका सामाग्रीको पसल राख्न थालिएका कारण विस्तारै अब त्यहाँ अन्य पसल पनि थपिने समस्यालाई नकार्न सकिने अवस्था छैन । उसै पनि स्तरवादी कार्यालयहरु रहेको यो रोड अति नै व्यस्त रहने गरेको छ । सवारी साधनको बढ्दो आवागमनका कारण पैदल यात्रुका लागि पेटीको व्यवस्था गरिएकोमा अहिले त्यहाँ विभिन्न पसलहरु चल्न थालेका छन् । पेटीलाई यसरी पसल राख्न थालिएपछि पैदल यात्रुले सडकबाट नै हिँडनु पर्ने र यसले गर्दा दुर्घटना निम्तिन सक्ने जोखिम छ । यसरी नै पेटीमा पसल राख्न छुट दिईरहँदा आगामी दिनमा अरुले पनि त्यहीँ व्यवसाय सुरु गरे भने अवस्था अझै अस्तव्यस्त भएर जान सक्दछ । यही क्रम बढ्दै जाँदा भविष्यमा सडकमै राजविराज नगरपालिकाले पनि सडकको अतिक्रमण हटाउनका लागि विगतमा कैयौं पटक सूचना जारी गरिसकेको छ । तर उक्त सूचनाको समेत पालना नगरी अतिक्रमण गरिँदै आएका कारण यस्तो विकृति सुरु हुन नदिन विशेष निगरानी बढाउन आवश्यक भएको छ ।
सडक, पेटी, गल्ली लगायतका सार्वजनिक स्थलहरुलाई अतिक्रमणबाट जोगाई सुरक्षित अवस्थामा राख्नु पर्ने जिम्मेवारी स्थानीय तहको नै रहेकोमा दुई मत नहोला । आफ्नो अधिकारको प्रयोग गर्दै स्थानीय तहले यो विकृति रोक्ने तर्फ ध्यान दिन जरुरी छ ।