पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सप्तरी खण्डको स्तरोन्नतिको काम पुनः सुचारु भएको छ । केही दिन अघिसम्म बन्द अवस्थामा रहेको काम अहिले आएर पुनः थालिएको हो । सडकमा बढ्दो सवारी चापलाई ध्यानमा राखेर चौडा पारी स्तरोन्नति थालिएको त छ । तर ढिलाईका कारणले सवारी साधन चलाउन तथा सडक आसपासका बस्तीमा निकै सकसपूर्ण अवस्था देखिने गरेको छ । सडक निर्माणको काममा ढिलाई भएको भनी पटक–पटक समाचार आएका छन् । स्थानीय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारीले स्थलगत अनुगमन गरेर समयमा काम सकाउन यस अघि पनि ध्यानाकर्षण गराएकै हुन् । तर पनि काममा नियमितता नरहेको र तोकिएको समयमा सम्पन्न नहुँदा म्याद थपेको अवस्था छ । राष्ट्रिय राजमार्गका रुपमा नै रहेको पूर्व–पश्चिम राजमार्गको बाँकी खण्डको स्तरोन्नतिको काम पनि अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ । कमलादेखि पश्चिमको सडक तथा कतिपय पुल समेत जीर्ण अवस्थामा रहेका कारण तिनको स्तरोन्नति नगर्दा भविष्यमा आवागमन नै अवरुद्ध हुन नपुग्ला भन्न सकिन्न । वर्षायाममा उसै पनि यो राजमार्ग खण्डको ठाउँ–ठाउँमा अवरोध उत्पन्न हुँदै आएको छ ।
त्यसमाथि पुराना पुलहरु कमजोर अवस्थामा रहेका र तिनको भार वहन क्षमता पनि कम हुँदै गएका कारण मर्मत सम्भार नहुँदा जोखिम बढेर जाने निश्चित छ । बाँकी सडक खण्ड स्तरोन्नतिको काम अघि बढाउनका लागि पहिले सुरु गरिएको कामलाई सम्पन्न गर्नुपर्ने आवश्यकता रहन्छ । भत्काएको सडकको निर्माण कार्य पूरा भएपछि मात्र त्यस खण्डमा यातायात सञ्चालनमा सहजता आउने छ ।