• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकाको नाम सुन्नासाथ यो टाउन प्लानिंगका साथ स्थापित शहर हो भनि प्रायः सबैले चिन्ने नै गरेका छन् ।
काठमाण्डौं पछि यसरी व्यवस्थित रुपमा बसाईएका कारण यसको विशेष प्रकारको महत्व त छँदैछ । यस संगसंगै यहाँका मौलिक कुराहरुले राजविराजमा छोटो समय बस्नेहरुका मानसपटलमा पनि गहिरो छाप छोड्ने गरेको कुरामा दुई मत होवैन । यस नगरीमा विभिन्न व्यक्तित्वले नेतृत्व गरी नगरलाई अझै सुन्दर कसरी तुल्याउन सकिन्छ भन्नेमा आफ्नो योगदान पु¥याएको विगत छ । यही कारण राजविराज मुलुकका पुराना शहरको दाँजोमा आफ्नो पहिचान स्थापित गर्नकालागि सक्षम भएको भनि मान्दा अन्यथा नहुनु पर्ने हो । यस नगरपालिकाको नेतृत्वमा आउने र जाने क्रम जारी नै छ । तथापि यहाँ विद्यमान केही समस्याका कारणले यस नगरीको मौलिकता हराउन थालेको छ । यसको उदाहरणका रुपमा यहाँ बढ्दो अतिक्रमण नै हो । अतिक्रमण बढिरहँदा पनि यस विकृतिमाथि रोक लगाउनमा नगरपालिका सफल हुन सकिरहेको छैन । रोक्ने प्रयास पनि नगरिएका कारण यस्तो अवस्था आएको भनि कतिपय नगरवासीकै भनाई सुन्न पाईन्छ । यस बाहेक नगरपालिका क्षेत्रमा आपराधिक घटना घट्न नपाउन् भन्ने सोचका साथ केही महिना पहिला सिसि क्यामेरा जडान गरियो । तर ती मध्येका धेरै जसो क्यामेरा चोरी भईसकेका छन् । यसै क्रममा तीन दिन अघि गजेन्द्र नारायण सिंह अस्पतालका एक कर्मचारीको शंकास्पद मृत्यु भएको छ । झुण्डिएको अवस्थामा उनको शव फेला परेको भए पनि आत्महत्या नभई उनको मृत्यु शंकास्पद रहेको भनि बताईएको छ । घटनाको वास्तविकता बुझ्नकालागि सिसि क्यामेरामा रेकर्ड फेला परेको भए वास्तविकता पत्ता लगाउनमा सहयोग पुग्ने थियो होला । तर क्यामेराले काम नगर्दा वास्तविकता अझै अज्ञात छ ।
नगरपालिकाले करीब एक करोड खर्च गरेर जडान गरेको क्यामेराको उपादेयता पनि बालुवामा पानी खन्याएसरह नै हुने हो भने यसरी भएको खर्चको के नै उपादेयता रहला र ? पुरानो शहरको उपादेयता कायम राख्नकालागि पनि जनताले सुरक्षाको अनुभूति पाउनै पर्छ । यस संगै नगरपालिकाले गर्ने गरेको खर्चको सदुपयोग भए मात्र नगरवासीले तिरेको तिरोको अर्थ रहने छ ।