• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

मानवसेवा आश्रम भवन निर्माणका लागि महायज्ञ

मानवसेवा आश्रम भवन निर्माणका लागि महायज्ञ
न्यूज टुडे
राजविराज, १९ मंसिर । 

सुर्खेतको वीरेन्द्रनगरमा मानवसेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने एवम् मानवता प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यले श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१ को आयोजना हुने भएको छ । आयोजक समितिले वीरेन्द्रनगर–८ खुलामञ्चमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर २१ गतेदेखि २८ गतेसम्म महायज्ञ  संचालन गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा सहभागीहरु । फोटो : न्यूज टुडे
अस्थायी रुपमा भाडा लिएर संचालनमा रहेको मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रमा हाल विभिन्न उमेर समूहका र विभिन्न प्रकृतिका ८० जना सहयोगापेक्षी सडकआश्रित मानवहरू संरक्षणमा छन् । सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेत सेवाकेन्द्रको आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखी महायज्ञ आयोजना गर्न  लागिएको महायज्ञ मूल समारोह समितिका संयोजक डा.नवराज के.सीले बताए ।    
मंसिर २१ गतेदेखि २८ गते सञ्चालन हुने महायज्ञको तयारी अन्तिम अवस्थामा पुगेको उनले जानकारी दिए ।  भागवत् भाष्कर कमलनयन गौतमको प्रमुख कथा वाचन रहने महायज्ञको औपचारिक उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले गर्ने मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले  बताए ।  
वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज के.सीको संयोजकत्वमा निर्माण भएको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ मूल समारोह समितिसँगै सेवा सहजताको लागि २५ वटा उप–समितिहरु निर्माण भएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ।
यज्ञको संरक्षक परिवार र अभिभावक परिवारमा प्रदेश र जिल्लाका विभिन्न क्षेत्रका प्रमुख एवम् प्रतिनिधिहरुलाई मनोनयन गरिएको समितिका संयोजक डा. केसीले बताए । महायज्ञ सफल बनाउन र सेवा सहजिकरणको लागि मानवसेवा आश्रमको ७ प्रदेश १९ जिल्लाका २५ सेवाकेन्द्रहरुबाट ३० जाना अभियन्ताहरु सुर्खेत केन्द्रित भएर सेवामा जुटिरहेको उनले जानकारी दिए।
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त कर्णाली प्रदेश निर्माण गर्ने अभिष्टसहित २०७५ साल माघ १८ गते मानवसेवा आश्रमले वीरेन्द्रनगर सुर्खेतमा आफ्नो मानवीय सेवा शुभारम्भ गरेको थियो । वीरेन्द्रनगर नगरपालिका वडा नं १२ मा घर भाडामा लिएर सेवा शुभारम्भ गरेको आश्रमले कर्णाली प्रदेशको १० वटै जिल्लाहरुबाट हालसम्म ४ सय १५ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन हुनुभएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको छ । 
मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौँडा, चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ सहित सुर्खेतमा हुन लागेको महायज्ञ ७ औँ महायज्ञ हो । साथै यसै वर्ष सुर्खेत पछि बुटवल, धनगढी, सर्लाही, हेटौँडा र पोखरामा पनि महायज्ञको आयोजना हुने मनावसेवा आश्रमले  जनाकाएकाे छ ।