सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुका लागि सरकारले खाजाको लागि बजेट पठाउने गरेको छ । प्रति विद्यार्थी १५ रुपियाँका दरले पठाएको बजेटबाट सम्बन्धित विद्यालयका बालबालिकाको लागि विद्यालयले खाजा खुवाउने व्यवस्था गरेको हुन्छ ।
खाजा नखुवाउँदा बालबालिका विद्यालय नआउने, आएपनि टिफीनमै घर फर्किने जस्ता गतिविधि हुन थालेपछि त्यसलाई रोक्न र उनीहरुलाई विद्यालयमै पूरा अवधि टिकाईराख्नका लागि खाजाको व्यवस्था गरिएको हो । तर यस वापत १५ रुपियाँका दरले मात्र बजेट उपलब्ध गराइँदै आएका कारण बढ्दो महँगी बीच उक्त रकम अति न्यून भएको भन्ने गुनासो उठ्न थालेको छ । १५ रुपियाँमा प्रति विद्यार्थी खाजाको व्यवस्था गर्न अति नै अप्ठ्यारो परिरहेको विद्यालयका प्रधानाध्यापकहरुले बताउने गरेका छन् । १५ रुपियाँ बजेटबाट कस्तो खाजा खुवाउन सकिएला भनी प्रश्न उठ्नुलाई अस्वाभाविक भन्न सकिन्न । खाजाको व्यवस्था गरेपछि कम्तिमा पनि विद्यार्थीलाई पुग्ने हिसाबले नै व्यवस्था गर्नुपर्ने हुन्छ । उसै पनि अधिकांश सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति निकै कम हुन थालेको छ । यस्तो अवस्थामा दिईने खाजा पनि विधि पु¥याउने हिसाबले मात्र अति थोरै परिमाणमा दिन थालियो भने विद्यालयहरुमा बालबालिकाहरुको उपस्थिति अझै नघट्ला भन्न सकिन्न ।
विद्यालयलाई पठाईने खाजा वापतको रकम पनि ढिलो गरी पठाईएको सप्तरीकै कतिपय विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । महँगी बढेको अनुपातमा खाजावापतको रकम पनि वृद्धि गरी समयमै पठाउने व्यवस्था मिलाउन आवश्यक छ ।