• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अराजक गतिविधि स्वीकार्य हुँदैन :  प्रजिअ दाहाल

अराजक गतिविधि स्वीकार्य हुँदैन :  प्रजिअ दाहाल
न्यूज टुडे
राजविराज, १२ मंसिर । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कानूनको खिल्ली उडाएर नजायज फाइदा उठाउने अराजक गतिविधि स्वीकार्य नहुने बताएका छन् ।  सप्तरीका पत्रकारसंग आफ्नै कार्यकक्षमा बुधबार संक्षिप्त कुराकानी गर्दै उनले यस्तो दृढता व्यक्त गरेका हुन् । 
प्रजिअ दाहालले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सुशासन कायम गराउने विषयमा कसैसँग सम्झौता नगर्ने दावी गरे ।  परिवर्तन आफैबाट सुरु गर्नुपर्ने मान्यतालाई स्थापित गर्दै जिल्ला प्रशासनलाई विचौलिया मुक्त कार्यालय बनाउँदै सबै सार्वजनिक सरोकारका कार्यालयमा अभियान संचालन गर्ने सोचका साथ अगाडि बढेको प्रजिअ दाहालले बताए । 
‘सुशासन कायम गराउने कार्यको थालनी भइसकेको छ, परिबर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने मान्यतको साथ जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको बेन्च लगाए सेवाको नाउँमा सेवाग्राहीसंग पैसा लिने गरेका पसलहरु हटाइयो,’ उनले भने,’ सम्भवत त्यहीबाट काम गराउने बहानामा नजायज लेनदेन गरी फाइदा उठाने गिरोह परिचालित गरिन्थ्यो, त्यसले विचौलिया मुक्त कार्यालय बनाउने अभियानमा टेवा पुगेको छ ।’
प्रजिअ दाहालले कुनैपनि सरकारी कार्यालय अगाडि राखीएको  बेन्च लगाए सेवाको नाउँमा सेवाग्राहीसंग पैसा  असुल गर्ने विचौलिया गतिविधि  निरुत्साहित गरेरै छाड्ने अठोट लिएको बताए । 
उनले कार्यालय आउँदा सम्पुर्ण कर्मचारी पोशाकमा आउनुपर्ने अनिवार्य गरिएको तथा काम भए वा नभएपनि कुर्सीमै बस्नुपर्ने भनी सबै कार्यालयलाई निर्देशन दिइसकेको बताए । 
राज्यले तोकेको जिम्मेवारी तथा दायित्व बहन गरे-नगरेको विषयमा आफै विभिन्न कार्यालयहरुको छ्ड्केमा जाने गरेको बताउँदै उनले आफ्नो कर्तव्य बहन नगर्ने कर्मचारी तथा कार्यालयको अनुगमन गरी संचार माध्यमबाट उजागरका लागि आग्रह गरे । 
सवारी व्यवस्थापन , बजार व्यवस्थापन,  अधुरो सडक तथा पूर्वाधारको कार्य र सरसफाइ समस्या जस्ता कार्यको बारे समेत आफुले चासोकासाथ सम्बन्धि पक्षसंग बुझेर काम अगाडि बढाएको उनले जानकारी दिए । उनले विभिन्न बाहनामा सेवा प्रभावित हुने गरी गरिने विरोध, कार्यालयमा हुने तालाबन्दी जस्ता कार्यलाई समन्वय गरी समाधान खोजिएको बताए । 
‘आफू आएको २८ दिनमात्र भयो, हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा तलबभत्ताको माग गरी गरिएको तालाबन्दी र बाढी तथा डुवान पीडितहरुले राहतको विषयमा विभिन्न वडा कार्यालयमा लगाएको ताला दुबैपक्षसंग सहकार्य गरी खोलियो’, उनले भने,’ राजविराज- भारदह खण्डमा सडक निर्माणको माग राखी स्थानीयले मंसापुर चौकमा पटकपटक गर्ने चक्काजाम विषयमा आफै उपस्तिथित भइ समस्या बुझेर निर्माण कम्पनीसंग सहकार्य गरी काम संचालन हुदैछ।” 
बषौसम्म अधुरो अबस्थामामा छोडिएको सडक तथा अन्य पूर्वाधार निर्माण कार्यको ढिलासुस्ती बारे सम्बन्धि पक्षसंग बुझेर कामलाई अगाडि बढाउने पहल गरिरहेको उनले बताए । 
‘राजविराज हटियाको भवन निर्माण कम्पनी तथा सरोकारवाला अड्डासंग कार्यप्रगति प्रतिबेदन बारे बुझ्ने कार्य गरेँ”प्रजिअ दाहालले भने,’ पुसको पहिलो हप्तादेखि नयाँ संरचनामा हटिया व्यवस्थापन हुनेछ, राजविराज बसपार्कको कामलाई सम्पन्न गरी सवारी व्यवस्थापन गर्ने कार्य चाडैं हुन्छ ।’
उनले सुशासन र विकासको कार्यमा कुनैपनि शक्तिले प्रभावमा पार्ने प्रयास गरे स्वीकार्य नहुने जिकिर गरे ।  आफू पनि भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि नसहने दृढता व्यक्त गर्दै उनले आफुले पाएको जिम्मेवारी पूरा नगर्ने तथा कानून विपरीत लाभ लिएको पाइएमा सह्य नहुने बताए । 
प्रजिअ दाहालले स्थानीय जातीय संस्कृति संरक्षणका लागि गरिने गैरनाफा मुलक संस्कृति मेला,महोत्सव बाहेकका कमाउने मनसायबाट लगाउने मेला महोत्सवको लागि अनिवार्य जिल्ला प्रशासनसीत सुरक्षा समन्वय हुन जरुरी रहेको बताए ।
उनले नाफा कमाउने उदेश्य राखेर लगाएका यस्ता मेला महोत्सवका आयोजकले सम्बन्धि  पालिकामा मुनाफाको ५० प्रतिशत रकम दाखिला गर्नुपर्नेमा जोड दिए । 
राजविराज महोत्सव मंसिर १५ देखि २५ गतेसम्म विभिन्न विरोधका विच  सर्वपक्षीय निर्णय अनुसार लगाउन अनुमति दिएको जानकारी दिदै प्रजिअ दाहालले नगरपालिकामा कुल आम्दानी ५० प्रतिशत रकम जम्मा गर्ने सर्त भएकोमा पालना गरे नगरेको बारे पत्रकारले समेत खोजी गर्नुपर्नेमा जोड दिए ।  
उनले मेलाको आयव्यय सार्वजनिक नगर्ने तथा सम्बन्धित पालिकामा आम्दानीको ५० प्रतिशत रकम जम्मा नगर्ने कसैलाई पनि अनुमति नदिने सर्वपक्षीय निर्णय भएको जानकारी दिए । 
उनले सुशासन,विकास, अपराध नियन्त्रण, शान्ति सुरक्षामा सुधार ल्याउने कार्यमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, राजनीतिदल, युवाविद्यार्थी, महिला, प्रहरी प्रशासनसहित सबै क्षेत्रको सर्वपक्षीय सहयोग अपरिहार्य हुने बताए।