राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको मात्र होईन, यसको सुधार हुनुपर्ने माग राखेर कैयौं पटक आन्दोलन नै भईसकेका छन् ।
बीचमा तत्कालीन उपप्रधान तथा स्वास्थयमन्त्री उपेन्द्र यादवको पहलमा यसको अवस्था सुधारोन्मुक देखिएको भएपनि यादव मन्त्रीबाट हट्ने बित्तिकै अस्पतालको ‘पुनर्मुसिको भवः’ कै अवस्था तर्फ उन्मुख रहन थालेको हो । केन्द्रमा स्वास्थ्यमन्त्री फेरिनासाथ राजनीतिक पहुँच र प्रभावले मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन गर्ने यहाँ परम्परा नै बसिसकेको छ । विरामीको उपचार गर्ने अस्पतालमा राजनीतिक प्रमुख प्रदर्शन हुन थालेपछि त्यसबाट उपचार सेवा प्रभावित हुनाका साथसाथै समग्र अस्पतालको अवस्था नै बिग्रेर जानु अस्वाभाविक होईन । अस्पतालमा बढ्दो गुटबन्दी, बाहिरी हस्तक्षेप तथा राम्रा चिकित्सकलाई टिक्न नदिने परिपाटी यहाँको रोग सरह नै बनेको भन्दा अन्यथा नहोला । यही कारणले यहाँ दरबन्दी अनुसारको मेसुलाई टिक्न नदिने र निमित्तका भरमा अस्पताल प्रशासन चलाउनु पर्ने बाध्यता छ । अस्पतालको अवस्था बुझ्न स्थलगत रुपमै अध्ययन गरी फर्केका वर्तमान स्वास्थ्य मन्त्रीले पनि सोचे जस्तो सुधार ल्याउन नसकेबाट यो अस्पताल अनेकौ. समस्याले ग्रसित छ भनेर बुझ्न गाह्रो नपर्ला ।
गरिब जनतालाई सुलभ र कम खर्चमा उपचार सम्भव होस् भन्ने आकांक्षाको विपरित अस्पताल आफै समस्याग्रस्त रहनाले यसमाथि भएको लगानीबाट पनि उपचार गर्न आउने विरामीले सुविधा पाउन सकिरहेको अवस्था छ । यी र यावत् समस्याप्रति सुक्ष्म अध्ययन गरी सेवामा सुधार तर्फ ध्यान नदिने हो भने यो ‘रेफरल सेन्टर’ के रुपमा सिमित नरहला भन्न सकिन्न ।