राजविराज नगरपालिकालाई खुला दिसामुक्त घोषणा (ओडिएफ) को वर्षौ वितिसकेको छ । सौचालयको प्रयोग गर्न, जथाभावी दिसापिसाब नगर्न विद्यालयका बालबालिका, एनजीओ, स्थानीय तह लगायत सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग समर्थन र सक्रियता बढाईएपछि यो काम सम्पन्न भएको हो ।
जिल्लाको सदरमुकाम समेत रहेको राजविराजमा खुला सौचका कारणले पनि फोहर दुर्गन्ध बढेको कुरा विदितै छ । ओडिएफ घोषणापछि सरसफाईको अवस्थामा सुधारको अपेक्षा गरिएको पनि हो । विगतमा सौचस्थल बन्दै आएका खुला नालाको स्तरोन्नति गरी त्यहाँबाट हिडडुल गर्न सक्ने बनाईएपछि यसले सफाईको अवस्थामा पनि सुधार आएकै हो । तर पनि अहिलेसम्म जताततै पिसाब फेर्ने, सौचालय जाने भन्दा पनि गल्ली, खेल मैदान तथा एकान्त स्थानतिर पस्ने प्रवृत्ति रोकिएको छैन । खुला सौच बिरुद्धको सक्रियतामा कमी देखिन थालेको महसुस हुँदैछ । ओडिएफ घोषणा कालमा जे जस्तो सक्रियता थियो त्यसमा कमी आएका कारण यस्तै खुला सौचमा छुट दिईरहने हो भने नगरपालिका क्षेत्रको अवस्था पहिला जस्तै बनेर नजाला भन्न सकिन्न ।
ओडिएफ घोषणाको नतिजा भनेको जथाभावी गरिने सौच रोकिनु हो । तर घोषणा मात्रै भयो तर व्यवहार र अवस्थामा परिवर्तन आएन भने यस्तो घोषणाको अर्थ र औचित्य नै के पो रहला र?