महिनौंदेखिको तलव भत्ता नपाएपछि अन्ततः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आइतबारदेखि तालाबन्दी गरिएको छ ।
उक्त नगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीहरुले नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । साउनदेखि नै तलव भत्ता नपाएपछि भोकभोकै काम गर्न नसक्ने भन्दै बाध्य भएर यस्तो कदम उठाउनु परेको आन्दोलनकारीहरुको भनाई छ । नगरपालिकामा नै तालाबन्दी भएपछि त्यहाँबाट सम्पादन हुने सबै काम प्रभावित हुने निश्चित छ । कर्मचारी तथा शिक्षकहरुलाई पाकेको तलव समयमा खुवाउनु पर्ने जिम्मेवारी नगरपालिकाको रहेको कुरामा दुई मत छैन । आफूहरुले तलव भत्ता नपाएका कारणले परिरहेको समस्याप्रति उनीहरुले समयमै नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत समेतलाई जानकारी गराईसकेकै हुन् । तर पनि समस्या समाधान तर्फ बेलैमा चासो नलिएपछि अहिलेको अनपेक्षित अवस्थामा आएकोमा शंकाहरुको अधिकार नै हो । त्यसमाथि दशैं, दीपावली, छठ जस्ता ठूलो चाडपर्वमा समेत तलव नदिएपछि आन्दोलनमा उत्रने अवस्था आएको हो । अब पनि समस्यालाई लम्ब्याई राख्ने हो भने यसबाट थप नोक्सानी पुग्ने कुरामा सन्देह नरहला । शिक्षकहरुले नै तलव माग्दै आन्दोलनमा उत्रेपछि यसबाट विद्यालयको पठनपाठन समेत प्रभावित बन्न सक्दछ ।
हजारौं बालबालिकाको शैक्षिक भविष्यलाई समेत हेरेर आन्दोलनकारीहरुको माग सम्बोधन गरी वातावरण सहज बनाउनका लागि नगरपालिकाका जिम्मेवार जनप्रतिनिधिहरुको ध्यानाकर्षण जरुरी छ । अवस्थालाई तत्कालै सुधारेर भद्रगोल बन्न नपाओस् भन्नाका लागि सक्रियताका साथ लाग्नु नै उत्तम हुनेछ ।