मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यस अघिको सरकारका पालामा कतिपय व्यक्तिलाई प्रकृया मिचेर नियुक्ति दिएका कारण अहिले आफूलाई काम गर्न समस्या परिरहेको बताएका छन् ।
उनले योग्यता नै नपुगेको व्यक्तिलाई विभिन्न जिम्मेवारीमा नियुक्ति दिएका कारणले सोचे जस्तो गरी काम गर्न नसकिएको भन्दै त्यसको छानविन गरिने समेत बताएका छन् । मुुलुकमा आएको ऐतिहासिक परिवर्तन सँगै योग्यलाई उचित स्थानमा काम गर्न पाउने व्यवस्थाको अपेक्षा गरिएको छ । तर अहिले राम्रा (योग्य) भन्दा पनि आप्mनालाई नियुक्त गर्ने प्रवृत्ति बढेको भनी सर्वत्र आलोचना हुन थालेको छ । राज्य सत्तामा बसेपछि दोहन गर्ने नभई योग्यलाई अवसर दिईनु पर्ने आम मान्यता रही आएको छ । तर आफ्ना कार्यकर्ता समर्थक आफन्तलाई पाल्नकै लागि प्रकृया मिचेर नियुक्ति दिईन्छ भने त्यसलाई सत्तामा बसेर दोहन गरेको मानिन्छ भने त्यो अन्यथा नहोला । सत्तामा जुन राजनीतिक दल पुग्छ उसले मौका पाउनासाथ आफ्ना कार्यकर्तालाई जागिर खुवाउने पाराले विभिन्न नाममा नियुक्ति दिने अनि सरकारी कोषबाट तलव सुविधा खुवाउने परिपाटी अपनाईनु भनेको सत्ताको दुरुपयोग नै हो । एउटाले यस्तो गर्न थालेपछि भविष्यमा अर्कोले पनि मौका पाउनासाथ त्यसैगरी दोहन नगर्ला भन्न सकिन्न । दलगत आधारमा दिईने नियुक्ति र अवसरले योग्य व्यक्ति नै त्यस्तो जिम्मेवारीमा जान पाउला भन्न सकिन्न । आफ्नो दलको कार्यकर्ता वा समर्थक छैन भने योग्य भएर पनि अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्दछ ।
त्यसैले प्रकृया र पद्धति मिचेर होईन त्यस्तो परिपाटी माथि अंकुश लगाएर थिति बसाल्नेतिर सोच्नु पर्ने आवश्यकता छ ।