मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले अहिले प्रदेश सरकारको सम्भावना नरहेको दावी गरेका छन् । राजविराजमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तै दावी गरे ।
मुख्यमन्त्री सिंहले सात वर्षसम्म अर्कै पार्टीले मधेश सरकार चलाएको र आफूहरु भर्खरै सत्तामा आएको र त्यसमा पनि विभिन्न दलहरुको सहभागिता रहेका कारण एकै गतिका साथ सबैले काम गर्न नसक्नुलाई स्वाभाविकै रुपमा लिनु पर्ने तर्क पनि गरेका छन् । केन्द्रमा होस् वा प्रदेशमा,सरकार टिक्ने पक्षमा नै पहिला विशेष दावी गर्ने परिपाटी अचेल निकै बढ्न थालेको छ । यसका विपरित विपक्षमा रहेका दलहरु सरकारले काम गर्न नसकेको र यो सरकार रहेसम्म मुलुकको बिग्रँदो अवस्था नसुध्रने भन्ने नै बढी रुचाउने गरेका छन् । यसले मुलुकमा राजनीतिक अस्थिरता हावी हुँदै गएको भनि कसैले अनुमान लगायो भने त्यसलाई अन्यथा लिनु नपर्ला । जनताका समस्या समाधान गर्न नसकिनुका पछाडि यसै प्रकारको अस्थिरता नै प्रमुख कारक रहेको भनि विश्लेषण गर्न थालिएको छ । र यस प्रकारको अस्थिरताका पात्र राजनीतिक दलहरु नै बन्दै आएको अवस्था छ । सरकारमा मात्र टाँसिएर रहँदा सबै समस्याको समाधान भएको अथवा समस्या नै नरहेको महशुस गर्ने तर सरकारबाट बाहिरिनेबित्तिकै समस्या नै समस्या देख्नुलाई दृष्टिदोष किन नभन्ने ? प्रश्न उठ्नु अस्वाभाविक होईन ।
तसर्थ पहिलो आफ्नो जिम्मेबारी बोधका साथ काम गर्नु पर्ने आवश्यकता छ । सरकारमा बसेर होस् वा प्रतिपक्षमा,सबैको फरक जिम्मेवारी रहेका कारण त्यसलाई सफलताका साथ बहन गर्न सकेमा मात्र राजनीतिक सफलता पनि प्रमाणित हुनेछ ।