महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रा निर्माणको काम वर्षौ अघि थालिएको हो । छात्रावास भवन निर्माणको अधिकांश काम उति बेला नै भईसक्दा पनि अन्तिममा केही काम गर्न बाँकी रहेको अवस्थामा निर्माण कार्य रोकिनाले अहिलेसम्म उक्त संरचना प्रयोग विहीन अवस्थामा रहेको छ ।
झ्यालढोका, रंगरोगहन, विद्युतीकरण लगायतका काम नभएका कारणले छात्रावास भवनलाई प्रयोगमा ल्याउन सकिएको छैन । अधुरो काम पूरा गरीदिनका लागि भवन निर्माणको जिम्मेवारी लिएको व्यक्तिलाई घचघच्याउने काम पनि नभएको होईन । समय–समयमा यसबारे सम्बन्धित निकायमा कुरा उठ्ने गरे पनि पछि त्यतिकै सेलाएर जाने गरे कारण बनेको भवन पनि खण्डहर भएर जाने चिन्ता बढेको छ । भवन खडा गरिएपनि प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेका कारण अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ । प्रयोगमा नरहेका कारणले त्यसको सरसफाई, संरक्षण, हेरचाह नभई रहेका कारणले कतै अहिलेसम्म भएको ठूलो लगानी समेत त्यत्तिकै खेर जाने पो हो कि भन्ने चिन्ता बढ्दो छ । भारतीय दूतावासको सहयोगमा सप्तरीमा सञ्चालित महेन्द्र बहुमुखी क्याम्पसको कन्या छात्रावास सहित विभिन्न ६ वटा योजना अधुरै अवस्थामा रहेका कारण थप योजनाका लागि भारतले स्वीकृति दिएको छैन । यी योजनाका काम पूरा नभएका कारणले थप योजना रोकिँदा विकास निर्माणमा समेत अवरोध उत्पन्न भईरहेको छ । कन्या छात्रावास प्रयोग लायक अवस्थामा नरहेका कारणले क्याम्पसको जग्गा समेत व्यर्थमा ओगटिन पुगेको छ ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा थप संकायको पठनपाठन सञ्चालन लगायत अन्य विकासीय काम अघि बढाउनमा पनि यसले समस्या पैदा गरिरहेको वास्तविकतालाई मध्यनजर गरी निर्माण कार्यलाई पूर्णता दिने सवालमा सम्बनिधत निकायले ध्यान पु¥याउनु आवश्यक छ ।