• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि राजनीतिक दलहरुमा यस बारे दुई प्रकारका धारणा विकसित भएका छन् । उनको पक्राउको समर्थन र बिरोध गर्ने दुई धार विकसित भएका हुन् । गल्ती गरेको छ भने उसलाई सजाय मिल्नु पर्छ भन्नेमा दुई मतको कुरा नहोला ।
लामिछानेको बारेमा अहिले अदालतमा सुनुवाई चलिरहेको छ । त्यसैले यो विषयका बारेमा अहिले नै टिकाटिप्पणी गर्नु भन्दा पनि न्यायालयले दिने निर्णय नै पर्खनु पर्ने हुन्छ । यस्तै अपचलन गरेका अन्य कतिपयलाई चाहिँ पक्राउ नगरी उन्मुक्ति दिएको भनि असन्तुष्टीका स्वरहरु उठ्न थालेका छन् । गल्ती गर्ने जो कोही किन नहोस्,उसलाई कानूनी दायरामा ल्याउनै पर्ने हुन्छ । एकै प्रकारको अपराधमा एकलाई पक्रने अर्कोलाई छुट दिने भन्ने कुरा हुँदैन । अहिले यही कुरालाई लिएर राजनीतिक दलहरुका वीचमा दुई प्रकारको धारणा आउन थालेको छ । परस्पर बिरोधी खालका धारणा आउन थालेपछि वाक्युद्ध चलेजस्तै भान हुन थालेको छ ।
त्यसैले यस्ता विषयमा तेरो मेरो भन्ने भावना राख्नु भन्दा पनि कुन प्रकारको गल्ती कसबाट भएको हो ? त्यसको तथ्यगत यकीन गरी उसलाई कारवाही तर्फ लैजान सक्दा नै सबै प्रतिको समान व्यवहारको सन्देश जाने हुन्छ । मुख ताकेर व्यवहार गर्दा त टकरावकै अवस्था आउने सम्भावना प्रबल रहने भएका कारण यस्ता विषयमा निष्पक्षता दर्शाउन आवश्यक छ ।