• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानीय तहमा विकास निर्माणको गुरुत्तर जिम्मेवारी छ । अधिकारसम्पन्न भएसंगै स्थानीय तहलाई स्थानीय सरकारकै जिम्मेवारी समेत दिईएको छ । यसै कारण विकास निर्माणदेखि अन्य विभिन्न क्षेत्रमा ती तहहरुले काम गर्नु पर्ने हुन्छ । यति ठूलो जिम्मा पाएका कारण स्थानीय तहहरुले आय बढाउने खालका योजना ल्याई त्यसबाट प्राप्त रकम समेत जनताकालागि विकासीय काममा लगाउनु पर्ने हुन्छ ।
जनताले स्थानीय सरकारको अनुभूति पाउन् भन्नाकालागि पनि यस प्रकारका काममा विशेष ध्यान दिनै पर्ने हुन्छ । यति महत्वपूर्ण जिम्मेवारी रहेका कारण स्थानीय तहलाई काम गर्नकालागि बजेटको अभाव रहनु नपर्ने हो । तर यही कारणले नै चाहेर पनि विकास निर्माणका पूरा काम गर्न नसकेको भनि ती तहका जनप्रतिनिधिले नै बताउने गरेका छन् । बजेट अभावका कारण विकासीयदेखि अन्य काममा पनि समस्या पर्ने गरेको छ भने उपलब्ध बजेटको अधिकतम सदुपयोगका साथ अत्यावश्यक काममा त्यसलाई लगाउने,फजुल तथा अनुत्पादक खर्चमाथि रोक लगाउन आवश्यक हुन्छ । यसका विपरित कतिपय स्थानीय तहले विकासीय काम भन्दा पनि अनुत्पादक कार्यमा रकम खर्च गरिरहेको देखिन्छ । उदाहरणकैलागि भन्नु पर्दा विभिन्न प्रकारका तालिममा स्थानीय तहले रकम खर्च गर्ने गरेका छन् । वर्षेनी जसो आर्थिक वर्षको अन्त्यतिर यस प्रकारका तालिम हतार हतारमा गराई बाँकी रहेको बजेटलाई त्यसैमा खर्च गरेर सिध्याउने गरेको भनि कतिपय स्थानीय तहको कार्यशैलीको आलोचना पनि नभएको होईन ।
तसर्थ जनतालाई प्रत्यक्ष लाभ मिल्ने खालका र अत्यावश्यक योजनाको प्राथमिकता निर्धारण गरेर मात्र खर्च गर्ने परम्पराको थालनी गर्न जरुरी छ ।