• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बाढीपीडत तथा डुबानपीडितहरुले केही दिन अघि नगरपालिकाका वडा कार्यालयहरुमा तालाबन्दी नै गरे । बाढी तथा डुबानबाट आफूहरुको ठूलो नोक्सानी हुँदा पनि राहत बितरणका समयमा काखापाखा गरेको भन्दै असन्तुष्टहरुले एकीकृत भई आन्दोलन नै सुरु गरेपछि नगरपालिकाका केही वडा कार्यालय समेतमा तालाबन्दी गरिएको हो ।
प्राकृतिक प्रकोपकै रुपमा रहेको बाढीको समस्या हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाहरुकालागि दीर्घरोग सरह नै बनेको छ । जसका कारण बर्षेनी जसो सयौं घर वर्षायाममा डुबानमा पर्दै आएका छन् । समग्रमा हेर्ने हो भने नगरपालिका कार्यालय रहेको हनुमाननगर बजार एरिया र बाँधदेखि दक्षिणपट्टिीको क्षेत्र बाढीका कारण बढी प्रभावित रहँदै आएको छ । नजिकै रहेको कोशीको बाढी पसेर डुबानमा पर्ने गरेका जनताको प्रमुख समस्या नै यही हो । तथापि तिनीहरुकलागि सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउनकालागि नगरपालिकाका जनप्रतिनिधिहरुको ध्यान पुग्न सकिरहेको देखिँदैन । सुरक्षित बसोबासको कुरा त परै जाओस्,बाढी तथा डुबानमा परेकाहरुलाई राहत दिँदा पनि कसैलाई काखा र कसैलाई पाखा गरेको भनि यति बेला पीडितहरुले नै असन्तुष्टी जनाईरहेका छन् । भोटको राजनीति गर्दै आफ्ना समर्थकलाई कम क्षति हुँदा पनि राहत दिएको तर बढी क्षति भएका समर्थक नरहेको भन्दै बञ्चित गरिएको भन्ने गुनासो छ । जनप्रतिनिधि भनेका सबै जनताकालागि उत्तिकै जिम्मेवार मानिन्छन् ।
तसर्थ जसको क्षति भएको छ ,उसलाई दलगत समर्थनका आधारमा होईन मानवीय आधारमा राहत बितरण गर्न आवश्यक देखिन्छ । प्राकृतिक विपत्तिमा परेकाहरुमाथि पनि राजनीतिक चश्माका आधारमा भेदभाव गरिनु मानवीय दृष्टिकोण समेतबाट उचित मान्न सकिन्न ।