केही साता अघि उपत्यकामा फैलिएको हैजा यति बेला मधेश प्रदेशमा फैलिन थालेको छ ।
रौतहटको राजपुरमा हैजाका विरामी बढ्दै गएपछि स्वास्थ्यकर्मीको सल्लाहमा बस्ती सिल गरिएको छ । बासी, सडेगलेका खानेकुरा तथा दूषित पानीमा हैजाको सङ्क्रमण फैलिने भएका कारण खानपिनमा विशेष ध्यान दिनुपर्ने भएको छ । अहिले रौतहटमा हैजा र झाडापखालाका विरामी बढ्न थालेकोले बेलैमा सावधानी नअपनाए यो महामारी अन्य जिल्लामा समेत नफैलिएला भन्न सकिन्न । हैजाको प्रकोप रोक्नका लागि शुद्ध तथा स्वस्थकर पिउने पानीको उपयोगमा विशेष ध्यान दिनुपर्ने आवश्यकता भएका कारण यसको पालनामा सबैले ध्यान दिनु उत्तम हो । सबैले यस प्रकारको सावधानी अपनाउन सके यसको प्रकोप फैलिएर जाने सम्भावना पनि न्यून रहन्छ । भनिन्छ ‘रोग लागि सकेर उपचार तर्फ लाग्नु भन्दा रोगै लाग्न नपाओस् भनी रोकथामतिर लाग्नु बुद्धिमानी हो ।’ प्रकोपकै रुपमा यो महामारी फैलिन थालेपछि स्वास्थ्य सचेतना उपचारको व्यवस्था, रोगबाट बँच्ने उपायका बारेमा जनसमुदायमा जानकारी दिने सवालमा काम गर्न आवश्यकता छ ।
झाडा पखाला, हैजाको सङ्मण तिब्र गतिमा फैलिने भएका कारण समय अगावै अपनाईने सावधानी विशेष प्रभावकारी हुनेछ । रोगको प्रकोप अन्यत्र बढ्न नपाओस् भनी यति बेला राजपुरमा जसरी बाहिरी आवागमन रोकेर सिल गरिएको छ, आवश्यकता परे अन्यत्र पनि यसै प्रकारको आवागमन रोकाबाट सँगसँगै अन्य हरसम्भव उपाय अपनाएर भएपनि जनताको स्वास्थ्य रक्षामा ध्यान दिईनु पर्दछ ।