कुनै समय यस्तो पनि थियो जब यात्रु नै नरहेको बहानामा राजविराज विमानस्थलमा पुर्वनिर्धारित उडान रद्द गरिन्थ्यो ।
करिब दुई दसक अघि नेपाल वायुसेवा निगमले सातामा एक÷दुई पटक राजविराजमा उडान भर्ने तालिका अनुसार निगमको कार्यालय राजविराजमा स्थापना गरिएको थियो । राजविराज बस्न नरुचाउने निगमका ती कर्मचारीले टिकट लिन आएका यात्रुलाई ‘उडान छैन’ भन्दै फर्काई दिने र उडान भर्ने दिन ‘पाउने छैनन्’ भन्दै उडान रद्द गराई दिने गरेको चर्चा त्यति बेला निकै चलेकै हो । पछि पक्की धावन मार्ग निर्माण भएपछि सुरु भएको विमान सेवा पनि सातामा तीन दिन उडान गर्ने गरी सञ्चालन त भयो तर पनि बराबर उडान रद्द हुने समस्याका कारण विमानस्थल पुगेका यात्रुहरुले पनि निराश भई फर्कनु पर्ने अवस्था कायमै रहेको हो । बुद्ध एयर प्रा.लि.ले पछिल्लो चरणमा सेवा सुरु गरेपछि राजविराज–काठमाण्डौं रुटमा अहिले दुईतर्फी यात्रु बढेका छन् । नियमित सेवा दिँदै आएका कारण छिमेकी जिल्लाबाट समेत हवाई यात्रु राजविराज आई विमान चढ्ने गरेपछि विमानस्थलको चहलपहलमा वृद्धि हुँदै गएको छ । उल्लेख्य संख्यामा यात्रु रहेका कारण गत शनिबार सप्तरीको एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसित भेट गरी राजविराजका लागि दैनिक दुई उडानको व्यवस्थाका लागि पहल गर्ने भनी मन्त्री पाण्डेले समेत बताएका छन् ।
दैनिक दुई उडान सञ्चालन हुनु थप सकारात्मक विषय त हो नै । यसका साथै धार्मिक पर्यटकीय स्थलका रुपमा सप्तरीलाई विकास गर्न सकिने सम्भावनालाई दृष्टिगत गरी त्यस प्रति पनि पर्यटन मन्त्रालयको ध्यान जान सके यसले जिल्लाको विकासमा थप टेवा पुग्नेमा आशंका नरहला ।