सप्तरी जिल्लाका विभिन्न सडक खण्डको अवस्था अहिले पनि बेहाल नै छ । भत्कने वित्तिकै मर्मत सम्भार नगर्ने, गरेपनि वर्षा लाग्ने बेलामा असार मसान्ततिर बजेट तह लगाउन सामान्य मर्मत गरेर आँखामा छारो हाले झै गर्ने परम्परा कायमै छ ।
यसरी गरिएको मर्मत वर्षा लाग्नासाथ भत्केर पहिलेकै अवस्थामा पुग्ने गरेका कारण जनतालाई विकासको अनुभूति गराउने भन्दा पनि बाँकी बजेट सकाउने सोच हावी भएको मानियो भने अन्यथा नहोला । कतै सडक स्तरोन्नतिको काम थालनी भएको पनि वर्षौ वितिसकेको छ । तर अति सुस्त तरिकाबाट काम हुने बीच बीचमा काम रोकिने जस्ता कारणले ती सडक भएर यात्रा गर्न अत्यन्त सकसपूर्ण अवस्था छ । राजविराज–६ छिन्नमस्ता सडक खण्ड दशैंको मुखमा पनि थलालिंगै अवस्थामा छ । पछिल्लो चरणमा राजविराजबाट तोपा हुँदै हनुमाननगर सम्म जाने सडक मर्मत अति जीर्ण अवस्थामा पुगेको भए पनि त्यसको मर्मत सम्भार तर्फ कुनै सुरसार गरिएको छैन । राजविराज–विराटनगर रुटमा ठूलो संख्यामा सार्वजनिक सवारी साधन यसै सडक भएर चल्ने ग रेका छन् । तर महिनौं देखि सडक भत्केर सवारी साधन चलाउन सकस भईरहँदा पनि उक्त सडकको सामान्य मर्मत तर्फ पनि कसैको ध्यान पुगेको छैन । तोपा–मन्सापुर–हनुमाननगर खण्डको सडक बढी बिग्रे भत्केका कारणले दुर्घटनाको जोखिम पनि बढ्दो छ ।
दशैं, तिहार, छठ जस्ता चाडपर्व सुरु हुने क्रममा छन् । चाडवाडमा सडकमा आवागमनको चाप पनि बढ्ने गर्दछ । यति बेला यो सडकको मर्मत सम्भार भईदिए सर्वसाधारणलाई राहत पुग्ने थियो । तर मर्मतका लागि असार मसान्त नै पर्खिने हो भने हिउँद भरि उक्त सडकबाट सास्ती खेप्दै यात्रा गर्नु पर्नेछ । जनतामाथि परेको समस्या र सकसप्रति ध्यान दिने हो भने उक्त जीर्ण सडकको सिघ्र मर्मत सम्भार गरिनु आवश्यक छ ।