• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भारतबाट भन्सार नतिरी भित्रयाईएको एक करोड भन्दा बढी मूल्यका कपडा बोकेको ट्रक सुनसरी हुँदै हेटौैंडाको रातमाटेमा पक्राउ प¥यो । यति लामो रुट पार गरेर हेटौंडा पुगेपछि भन्सार नतिरी भित्रयाएको कपाड बरामद हुनु र बीचमा सहजै पास हुनाले घटनालाई रहस्मय बनाईदिएको छ ।
कोशी प्रदेशबाट हिंडेको ट्रक मधेश प्रदेश पार गर्दै बागमती प्रदेशको राजधानी हेटौंडा पुगेपछि मात्र त्यसमा भन्सार छलेर ल्याएको ठूलो परिमाणको कपडा रहेको भन्ने खुल्यो । सडकभरि ठाउँ–ठाउँ प्रहरीको चेकजाँच रहँदा रहँदै पनि यसरी तस्करीका सामान ठूलो परिमाणमा भित्रिन्छन् भने मुलुकको कति राजस्व परिरहेको होला? चिन्ताको विषय हो । दशैं, तिहार, छठ लगायत चाडपर्व आउने क्रममा छन् । यस्तो समयमा बजारमा किनमेल बढ्ने भएका कारण तस्करी गरेर सामान ल्याउनेहरु पनि सक्रिय हुने सम्भावना बढी रहने गर्दछ । घरेलु उपयोगका लागि दुई चार केजी दैनिक उपभोग्य वस्तु किनेर ल्याउँदा नाकामा कडाई गर्ने प्रहरीले करोडौंका मालसामान राजस्व मारेर भित्रयाउँदा पनि किन पत्तो पाउँदैन? प्रश्न उठ्नु स्वाभाविकै हो । ठूलो परिमाणमा तस्करी गरेर सामान भित्रयाउँदा सेटिंग मिलाईएका उदाहरण पनि नरहेका होईनन् ।
तसर्थ यस्तो समयमा तस्करी नियन्त्रणका लागि विशेष सक्रियताको आवश्यकता छ । नाकामा बसेर दिउँसो सानातिना पोका चेक गर्ने अनि राती राती तस्करीका सामान लोड गरेका ठूला–ठूलो ट्रकलाई छाडि दिने हो भने यस्तो पाराले राजस्व संकलन त प्रभावित बन्छ नै । भन्सार सुक्ने अनि तस्कर मोटाउँदै जाने यस्तो परिपाटीमा सुधार ल्याउन आवश्यक छ ।