• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

संबिधानसभाबाट निर्माण गरिएको नयाँ संबिधान जारी भएको दिन आज अर्थात संबिधान दिवस ।
मुलुक गणतन्त्रमा गएपछि त्यसको ग्यारेण्टी सहितको गणतान्त्रिक संबिधान निर्माण भएको स्मरण स्वरुप यो दिवस मनाउन लागिएको हो । आफ्नै निर्वाचित प्रतिनिधिबाट संबिधान निर्माणको अवसरलाई महत्वका साथ हेरिएको छ । नेपालको संबिधान २०७२ ले गणतन्त्रका अलावा संघीयता,धर्मनिरपेक्षता,समाबेशिता सहितलाई ग्यारेण्टी गरेका कारण सबै जनताको सहभागिता र लोकतन्त्रका साथ विकासमा अघि बढ्ने अपेक्षा गरिएको छ । जनतामा सार्वभौमसत्ता निहित रहनाका साथै सामाजिक न्यायमा जोड दिनु नयाँ संबिधानका थप विशेषता हुन् । सबै प्रकारका विभेदको अन्त्यका साथसाथै एकता,सामाजिक सांस्कृतिक स्वतन्त्रता र सहिष्णुताका साथै मुलुकभित्रका सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिईएको छ । सबै नेपालीलाई नागरिकताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको समेत ग्यारेण्टी गरिएको छ । गतिशील दस्तावेजका रुपमा रहेको संबिधानमा नमिलेका पक्ष वा असन्तुष्टीका बारेमा संशोधन गरी उक्त असन्तुष्टीको समेत सम्बोधन गर्न सकिने कुरा राजनीतिक दलहरुले पनि स्वीकार गरेकै अवस्था छ । केही राजनीतिक दलहरुले यसका नमिलेका पक्षलाई सच्याउनु पर्ने माग उठाईरहेको सन्दर्भमा त्यसको निराकरण पनि गरेर यसलाई अझै सर्वस्वीकार्य तुल्याउन दलहरुले सहमति खोज्नु झनै सान्दर्भिक हुनेछ । संबिधान दिवसलाई वर्षमा एक दिन औपचारिक रुपमा मात्र मनाएर पुग्दैन ।
यसको भावनालाई जनतासम्म पुर्याउन भ्रष्टाचार,विकृति, बिसंगति लगायतमा नियन्त्रण गर्नाका साथै जनतालाई परिवर्तनको प्रत्याभूति मिल्ने गरी काम गर्नु पर्ने आवश्यकता छँदैछ । बिधिको शासन प्रत्याभूत हुने गरी काम गर्न जिम्मेवार राजनीतिक दलहरुमा प्रेरणा जागृत हुन सकोस् । संबिधान दिवसको सबैमा शुभकामना ।