सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ स्थित महुलीमा बुधबार एक युवक मृत अबस्थामा भेटिएको छ । अग्नीसाईर कृष्णासवरन ६ मोहनपुर बस्ने रामकाजी पोखरेलको छोरा अन्दाजी बर्ष २८ को इश्वर पोखरेल विहान ७ बजे मृत फेला परेको हो ।
महुली बजारदेखि ३ सय मिटर पूर्व स्थानीय घुरण चौधरीको धान खेतको आलीमा पोखरेललाई मृत भेटिएको प्रहरीले जनाएको छ । युवक खेतको आलीमा ढलेको देखेर स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुग्दा उनलाई मृत अबस्था भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटना स्थलमा प्रहरी अनुसन्धान टोली खटाई घटना बारे अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
मंगलबार विश्वकर्मा पूजाको अवसरमा महुली बजारमा साँझ साँस्कृतिक कार्यक्रम आयोजना हुँदा युवाहरू वीच सामान्य झडप समेत भएको स्थानीयले जनाएका छन् । झडपमा पोखरेलको संलग्नता भए-नभएको भन्ने बारे अहिलेसम्म खुल्न नसकेको स्थानीयले बताए ।
स्थानीयका अनुसार मंगलबार साँझ बजार झरेका पोखरेल घरफर्किएका थिएन । वैदेशिक रोजगारीमा गएका युवक दुइसाता अगाडि ५५ बर्षिय आमा कल्पना पोखरेलको झुन्डिएर मृत्यु भएपछि स्वदेश फर्किएका थिए ।