• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानीय तहहरुलाई आफ्ना क्षेत्रका विद्यालयप्रतिको जिम्मेवारी समेत प्रदान गरिएको छ । ती विद्यालयहरुमा नियमित पठनपाठनको व्यवस्था मिलाउनेदेखि त्यस क्रममा उत्पन्न समस्याको समाधान खोज्ने, विद्यालय अनुगमन, तलव निकासा लगायतका जिम्मेवारी स्थानीय तहहरुलाई नै दिईएको छ ।
सप्तरीमा भने स्थानीय तहहरुले विद्यालयको अवस्था दयनीय रहेका कारण त्यसको असर पठनपाठनमा परिरहँदा पनि अतिसाह्रो चासो लिएको देखिन्न । कतिपय विद्यालयमा शिक्षकको अभाव छ भने कतै थोरै संख्यामा विद्यार्थी रहँदा पनि शिक्षकहरु धेरै संख्यामा कार्यरत रहेको पाईन्छ । विद्यार्थी धेरै भएपनि शिक्षक अपुग भएमा त्यसले पढाइृमा बाधा पर्ने कुरा निर्विवादै छ । शिक्षक मात्र होईन, भौतिक संरचनाको अभावका कारणले पनि विद्यालय सञ्चालनमा समस्या भईरहेको अवस्था छ । कतै कक्षा कोठा, कतै शौचालयको अभाव त कतै पिउने पानी समेत अभाव रहँदा समस्यामथि समस्या थपिँदो छ । कोठा अभावका कारणले कोचमकोच गरेर विद्यार्थी राखिन्छ, तर उग्र गर्मीमा कक्षा कोठामा पंखा नरहनाले गर्मी खेप्न नसकी विद्यार्थीहरु विरामी नै पर्ने गरेको पनि देखिन्छ । यी समस्याप्रति स्थानीय सरकारकै भूमिकामा रहेका पालिकाहरुले चासो लिन आवश्यक छ । किनभने यो उनीहरुको जिम्मेवारी पनि हो । तर जिम्मेवारी बोधका लागि यस्ता समस्या तत्कालै ध्यान दिनु पर्नेमा पटक–पटक भन्दा पनि कुनै सुनुवाई नगरिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुको गुनासो सुनिन्छ ।
जिम्मेवारी लिएपछि त्यसको बोध हुन पनि जरुरी भएकोले स्थानीय तहका जनप्रतिनिधिहरुले यस्ता समस्याको समाधानप्रति तदारुकता देखाउन आवश्यक छ ।