छिन्नमस्ता गाउँपालिकाका अध्यक्षले सप्तरी सदरमुकाम राजविराज देखि छिन्नमस्तासम्म जाने सडक स्तरोन्नतिको काम छिट्टै सम्पन्न गर्नका लागि पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण मात्र गरेनन्, बाध्य भएर सडक डिभिजन कार्यालय लहान पुगेर आफ्नै नेतृत्वमा धर्ना पनि बसे ।
प्रधानमन्त्री, सडक विभागका महानिर्देशक सम्मलाई भेटेर जनताले खेपिरहेको सास्तीका बारेमा जानकारी समेत गराए । तर पनि प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सम्म जाने सडकको अवस्था अहिलेसम्म लथालिंग नै छ । सुक्खा याममा कछुवाको गतिमा काम गर्ने, पुरानो सडकलाई भत्काएर राख्नेर अनि वर्षा लागेपछि कामै बन्द गर्नाले आवागमनमा सर्वसाधारणले भोग्नु सम्मको सास्ती भोगिसकेका छन् । समस्या राजविराज–छिन्नमस्ता सडकको मात्र होईन, जिल्लाको अन्य ठाउँमा पनि भत्केका सडकहरुको मर्मत सम्भारमा काम ठप्प पारिएको छ । भत्केका सडक मर्मत गर्नु पर्दा पनि असार मसान्ततिर बाँकी रहेको बजेट खपतका लागि कतै–कतै सडकमा चिप्पी लगाउने गरिएको देख्न पाईन्छ जसलाई त्यस लगत्तैको वर्षाले पहिलेकै अवस्थामा पु¥याई दिने गरेको छ । वर्षा सकिना साथ दशैं, तिहार, छठ जस्ता ठूलो चाडपर्व आउने गर्दछन् ।
चाड मनाउन घर फर्किनेको चहल पहल त बढ्छ । तर यस्तै जीर्ण सडकको यात्रा गर्नुपर्दा दुर्घटनामा दशैंमा सर्वसाधारणले सास्ती ब्यहोर्नु पर्ने अवस्था पनि आउने थिएन । तर पहिलेदेखि चलेको परिपाटीमा सुधार नल्याईएका कारण जनताले कष्ट भोग्नु परिरहेको छ । यस्तो कार्यशैली सुधारेर चाडवाड अघि नै सडक मर्मतमा ध्यान पु¥याउन जरुरी छ ।