गत शनिबार सप्तरीमा पनि ६०औं बालदिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । जिल्लाका पालिकाहरुमा बालदिवसको अवसर पारेर बालबालिका लक्षित कार्यक्रम आयोजना गरिए ।
यस्ता कार्यक्रममा बालअधिकार र तिनको अवस्थाका बारेमा समेत निकै चर्चा भए । वर्ष दिनमा एक पटक यस्ता कार्यक्रमको आयोजना गरेर मात्र बालबालिकाहरु प्रतिको हाम्रो जिम्मेवारी पूरा भईहाल्छ भन्ने होईन । बरु बालबालिकाको हितमा वर्षभरि काम गरेर प्राप्त उपलब्धि तथा गर्न बाँकी कामलाई पनि समीक्षा गर्न सकियो भने यस्ता कार्यक्रमको अझै सार्थकता बढ्ने छ । सप्तरीमा अहिले पनि बालश्रम पूर्ण नियन्त्रण भई नसकेको अवस्था छ । सबै बालबालिकालाई विद्यालयमा ल्याउने भनिए पनि भर्ना भएकाले विद्यालय छोड्ने (ड्रप आउन) को पनि समस्या नरहेको होईन । हो, बालदिवसका अवसरमा उनीहरुका लागि के के गर्न सकियो भन्ने सिंहावलोकन गर्दै विद्यमान कमजोरी पक्षलाई पनि सुधार गर्दै लैजान सकियो भने बालबालिकाको अवस्थामा परिवर्तन आउन सक्नेछ । अवस्थाकै कुरा गर्ने हो भने यहिले पनि जिल्लाका धेरै विद्यालयमा भौतिक सामग्रीको अभाव छ । यसको प्रत्यक्ष असर बालबालिका माथि पनि परिरहेको छ ।
कक्षाकोठा अभावले गर्दा बहु कक्षा एउटै कोठामा चलाउनु, एउटै बेञ्चमा पाँच जनासम्म बालबालिकालाई राखिनु, पिउने पानी, शौचालय, विद्युत पंखा आदिको अभाव रहेका कारण त्यसबाट उत्पन्न कष्ट बालबालिकाले नै सहनु परिरहेको अवस्था छ । बालबालिकाको हितका लागि यस्ता कुरामा पनि ध्यान पु¥याउनु जरुरी देखिन्छ ।