प्रियष्मी शर्मा
भारदह, ३० भदौ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहमा आइतबार वीङ्गरको ठक्करबाट एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नम्बरको वीङ्गरको ठक्करबाट स्थानीय महेश्वर अधिकारीको १ बर्षिय छोरा आदर्श अधिकारी र उनको हजुरआमा बर्ष ५० की अनिता अधिकारी गम्भीर घाईते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्वार गरी उपचारका लागि अस्पताल पठाएका थिए ।
घाइते नाती, हजुरआमा दुबैजनाको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा ठक्कर दिने वीङ्गर प्रहरी नियन्त्रणमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
वीङ्गर चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोसित स्थानीयबासी तथा घाइतेका आफन्तहरुले विहान ७: ३० बजे देखि सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन् ।
ज्यान मार्ने उदेश्यले दुर्घटना गराएकोले चालकमाथि ज्यानमार्ने मुद्दा चलाउनुपर्ने, घटना स्थलमा सिडिओ, एसपीसहितका जिम्मेवार सुरक्षा अधिकारीहरुको उपस्थिति हुनुपर्ने, घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कंकालनी मन्दिर क्षेत्र भित्र प्रहरी वीट राख्नुपर्ने, वीङ्गर संघको सिण्डिकेट खारेज गर्नुपर्नेलगायतका माग उनीहरुको छ ।
टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभएसम्म अनिश्चितकालीन सडक अबरुद्ध गर्ने अडान लिएका छन् ।
स्थानीयले अबरोध गरेपछि विहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन सडकमा रोकिएको छ भने हजारौं यात्रुहरु सास्ती खेप्न बाध्य छन् ।