• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

युवाहरुलाई कुलतबाट जोगाउनकालागि युवा सञ्जालको भूमिका महत्वपूर्ण हुने भनि बताईएको छ ।
युवा सञ्जालको दुई दिने क्षमता विकास तालिमको समापनका अवसरमा आयोजित कार्यक्रममा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले यस्तो बताए । युवा कुलतमा लाग्ने क्रम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकामा मदिरा बिक्रीकालागि अनुमति दिन बन्द गरिएको समेत उनले बताए । मूलतः युवा कुलतमा लाग्नाको कारण मदिराका पसल बढी खुलेका कारणले हो भनि बुझ्नु भन्दा पनि बढ्दो बेरोजगारीका कारणले हो भन्दा अन्यथा नहोला । रोजगारी नपाउँदा आम्दानी नहुने,आम्दानी नहुने व्यक्ति घरपरिवारकालागि समेत बोझसमान बन्ने गरेका कारण बेरोजगार भई बसेका व्यक्तिमा यसले नैराश्यता पैदा गर्ने भएका कारण ऊ विस्तारै लागुपदार्थ सेवनको कुलतमा फँस्दै जाने सम्भावनालाई नकार्न सकिन्न । काम नगरीकन त्यसै बस्नाले मनमा नकारात्मक विचार बढी आउने भएका कारण पनि गलत मार्ग अपनाउन सक्ने सम्भावना बढी रहन्छ । युवालाई क्षमता अनुसारको रोजगारी दिने व्यवस्था भएमा यसबाट उनीहरुको माध्यमले सिंगो राष्ट्रले नै फाईदा लिन सक्दछ । बेरोजगारी समस्याले व्यक्ति,उसको घरपरिवारदेखि समाज र राष्ट्रमै समस्या पैदा गर्ने भएका कारण सरकारले युवालक्षित रोजगारीको व्यवस्था मिलाउनेतर्फ सोच्न आवश्यक छ ।
कुलतमा लागेकाहरुबाट मुलुकले नोक्सानी नै ब्यहोर्नु पर्ने भएका कारणले पनि यस विषयमा अनदेखा गर्न मिल्दैन । भोलिका दिनमा राष्ट्रको जिम्मेवारी लिने युवाको भविष्य बिग्रन नपाओस् भन्नाकालागि उनीहरुलाई कुलतबाट जोगाउन जरुरी छ ।