सप्तरीमा दसकौं अघिदेखि सञ्चालनमा रहेका पत्रिका पसल यति बेला धमाधम बन्द हुने क्रममा छन् । पत्रिका नै आउन छाडेका कारण घरभाडा उठाउन पनि धौ धौ पर्न थालेपछि बाध्य भएर ती पसल बन्द गर्नु परेको हो ।
मुनाफा कमाउने भन्दा पनि कम्तिमा टिक्न सक्ने बातावरण भईदिएको भए पनि शायद ती पसल बन्द हुने थिएनन् होला । पञ्चायतकालदेखि नै राजविराजमा सञ्चालनमा रहेको पत्रिका पसल समेत अहिले बन्द भएको छ । यसले गर्दा किनेर पत्रिका पढ्न चाहने पाठकले समेत त्यसबाट बञ्चित हुनु परेको छ । पञ्चायती शासकका बिरुद्ध जागरण ल्याउने खालका पत्रिका राजधानीबाट मगाएर ती पुराना पसलले बिक्री गर्दै आएका थिए । यस दृष्टिले तिनले जनजागरणका सबालमा समेत अप्रत्यक्ष रुपमै भए पनि सहयोग पुर्याएकोलाई बिर्सन मिल्दैन । पञ्चायती स्वेच्छाचारी शासनका बिरुध्दका समाचार र विचारलाई प्राथमिकता दिएर राजधानीबाट प्रकाशित हुने विशेषतः साप्ताहिक पत्रिका पढ्नकालागि पाठक यहाँ प्रतिक्षारत रहेको कुरा स्मरणीय छ । पाठकलाई आवश्यक खुराक पस्किने माध्यम तिनै पत्रिका पसलहरु थिए,जो अहिले धराशायी बनेको अवस्था छ । पत्रिका पसल टिकाउनकालागि नियमित पत्रिका आउनु पर्ने कुरा अकाट्य नै हो । तर मुलुकमा पत्रिकाहरु नै संकटमा परिरहेको अवस्था जगजाहेरै छ ।
लोकतान्त्रिक सरकारका कार्यकालमा पनि पत्रिकालाई टिकाईराख्न,उनीहरुले भोग्नु परेका समस्याको समाधान गर्न तथा श्रमजीवी पत्रकारहरुका समस्या हल गर्न सरकारले चासो नलिएका कारण नै यस्तो अवस्था आएको भन्न हिचकिचाउनु नपर्ला । पत्रिका प्रकाशनमा झेल्नु परिरहेको आर्थिक संकट निबारणमा सरकारले सहयोगी भूमिका निर्वाह गर्न आवश्यक छ ।