सप्तरीमा केही दिन यता चोरीका घटना बढ्दै गएका छन् । शनिबार मात्र अग्निसाईर कृष्णसबरण गाउँपालिका २ चाँदनी चोकबाट चोरीको सामान सहित एक जना पक्राउ परेका छन् ।
स्थानीय ललितनारायण साहको घरको ताल्चा फोर्दै गरेको समयमा गाउँलेले चोरलाई रंगेहात पक्रेर प्रहरीलाई बुझाएका हुन् । कुरा उक्त घटनाको मात्र होईन, जिल्लाका मठमन्दिर गुम्बा,विद्यालय,सार्वजनिक स्थलमा समेत चोरी बढ्न थालेका छन् । चोरी बढिरहने तर सुरक्षाको प्रत्याभूति नदिने हो भने यो जनमानसमा त्रास बढ्ने कारक पनि बन्दछ । चोरी नियन्त्रणकालागि रात्री गस्तीको व्यवस्था मिलाउन आवश्यक त छ । तर प्रहरी प्रशासनले अचेल यस प्रति उति साह्रो ध्यान नदिएको जनमानसमा भान हुन थालेको छ । पहिला पहिला रात्री गस्ती गर्ने व्यवस्था पनि रहेको थियो । त्यसले गर्दा चोरी कम हुन्थ्यो भने चोरी गर्ने पनि समातिने गरेका थिए । तर अहिले चोरी बढ्दा पनि रात्री गस्तीमा कमी आएका कारण त्रास बढेको स्थानीय नै बताउन थालेका छन् । निकट रहेका ठूला चाडबाडलाई लक्षित गरेर भए पनि सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता छ । यस्ता चाडबाडमा आर्थिक कारोबार बढी हुने, जनमानसको भिडभाडमा पनि चोरी हुन सक्ने कुरालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता बढेको हो ।
चोरी कुनै पनि समयमा हुन सक्ने भएका कारण सुरक्षा व्यवस्था पनि हरेक समय कायम रहनै पर्दछ । सुरक्षामा सुधार आउनुलाई पनि प्रहरीको सफलता नै मानिने भएका कारण यसलाई अनदेखा गर्न मिल्दैन ।