केही दिन अघि गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि ल्याईएका एक युवकको मृत्यु भएपछि अस्पतालको वातावरण तनावपूर्ण बन्यो ।
चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले आरोप लगाएपछि अस्पतालमा तनाव बढ्यो । केही समय अघि सम्म अस्पतालको उपचार सेवामा सुधार हुँदै गएपनि अहिले फेरि त्यसमा कमी कमजोरी आएको भन्ने जनगुनासो बढ्न थालेको छ । सत्ता परिवर्तनसँगै अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट बन्नका लागि चलखेल बढ्ने, पहिलेदेखि काम गरिरहका मे.सु. लाई सरुवा गरिदिने जस्ता गतिविधि बढ्नाले अस्पताललाई राजनीतिक प्रभावमा लैजाने काम हुन थालेको भनदै टिकाटिप्पणी समेत हुन थालेको छ । सत्तामा को आउँछ र को जान्छ भन्ने कुरा अस्पतालको सरोकारको विषय किमार्थ होईन । सरकारको नेतृत्वमा जो आएपनि अस्पतालको मुख्य जिम्मेवारी विरामीहरुको उपचार नै हो । मे.सु. बन्नका लागि हुने चलखेल, अनपेक्षित गुटबन्टी, अस्पतालको प्रशासन चुस्तदुरुस्त नरहने अवस्था आउँछ भने यसको प्रभाव उपचार सेवामाथि पर्नु अस्वाभाविक होईन । तत्कालिन उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पहलमा डा. चुमनलाल दासलाई मे.सु.को जिम्मेवारी दिएर पठाउँदा उनको नेतृत्वमा अस्पतालमा धेरै सुधारका काम भएकै हुन् । त्यसपछि पनि केही समय अस्पतालले राम्रै तरिकाबाट उपचार सेवा प्रदान गर्दै आएकोमा अहिले पछिल्लो चरणमा फेरि कमजोरी देखा पर्न थालेको भनी विश्लेषण हुन थालेको छ ।
तसर्थ अस्पताललाई दलगत सोचबाट मुक्त राखी राम्रो उपचार सेवा कसरी प्रदान गर्न सकिन्छ त्यस दृष्टिकोणबाट हेरिनु आवश्यक छ ।