• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

 चाडबाडमा खाद्यान्नलगायत अन्य वस्तुमा समेत कालोबजारी हुन सक्ने सम्भावनालाई नकार्न मिल्दैन । विगतमा पनि यस प्रकारका करतुत भएकै हुन् । यस वर्षका ठूला चाडपर्व नजिकिने क्रममा रहेका कारण ती सामग्रीमा मूल्य बढ्न थालिसकेको छ । चाडबाड आउनासाथ यसरी मूल्य बढाउनु पर्ने कारण नै बुझिनसक्नुको छ ।
यस्तो समयमा व्यापार बढी हुने भएका कारणले थोरै मुनाफा राखेर धेरै बिक्री गरी राम्रो आर्जन गर्न सकिने अवसरका रुपमा यसको सदुपयोग हुन सक्दछ । व्यापार बढी भएका बखत साबिकको मूल्यबाट थोरै मात्र मुनाफा कम गरेर सामान बेच्दा किनेर खाने उपभोक्तालाई थोरै भए पनि राहत पुग्ने थियो होला । तर मौकामा चौका हान्ने नियतले जथाभावी मूल्य बढाउनाले त यसबाट उपभोक्ताको सरासर शोषण भएको मान्नु पर्दछ । चाडपर्वमा खाद्यान्नको पनि खपत बढी रहने कुरालाई मध्यनजर गर्दै सरकारले कालोबजारी रोक्नकालागि सरकारी निकायलाई पनि सक्रिय बनाएको छ । निजी क्षेत्रले मात्र खाद्यान्न आयात गर्दा कालोबजारीको सम्भावना बढी हुने कुरालाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,साल्ट ट्रेडिंग कर्पोरेशनलाई आयातको अनुमति दिएको छ । चाडपर्वका समयमा बजारमा सहज आपूर्ति व्यवस्था मिलाउन प्रधानमन्त्रीले उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालय र त्यस मातहतका निकायलाई केहीदिन अघि निर्देशन समेत दिईसकेका छन् । यसका बाबजुद पनि जिल्लाहरुमा कालोबजारी नहोला भन्न सकिन्न ।
बजार अनुगमन गरी मूल्यमा एकरुपता राख्न, गुणस्तरका बारेमा जानकारी लिन तथा भेटिएका कमी कमजोरी सुधार्ने सम्बन्धमा काम गरेर कालोबजारी नियन्त्रण गर्न आवश्यक छ ।