सप्तरीको हनुमाननगर कंकालिनी–१ कोशी पलारबाट बँदेल मारेको आरोपमा पक्राउ परेका १० जना शिकारी समूहलाई धन जमानीमा छाडियो ।
मारिएको बँदेललाई पनि पोष्टमार्टम नै नगरकिन हतार–हतारमा गाड्ने काम भयो । बन्यजन्तुको अवैध शिकार गरेको भनी चौतर्फी आलोचना भईरहँदा समेत त्यसको वातस्तविकता जनसमक्ष जानकारी दिने भन्दा पनि दोषीलाई चोख्याउने तिर लागेको भन्दै चौतर्फी विरोध र टिकाटिप्पणी सुरु भएपछि अहिले गाडेको चार दिनपछि बँदेललाई निकालिएको छ । यसैगरी जमानीमा छाडिएका मध्ये ९ जनालाई प्रहरीले वन कार्यालयलाई बुझाएको छ । धन जमानीमा छुटेका नेपाल प्रहरीका पूर्व डिआईजी सहित नौं जनालाई थप अनुसन्धानका लागि भन्दै वन कार्यालय सप्तरीलाई बुझाईएको हो । शिकारी टोलीमा संलग्न रहेका मध्ये हनुमाननगर कंकालिनी न.पा.–८ निवासी आकाश बहरखेर यादव विरामी रहेका कारण हाजिर नभएको प्रहरीले जनाएको छ । बँदेल शिकारका क्रममा प्रहरीले २२ क्वालिवरको एक थान राईफल, २ थान म्यागजिन, १५ राउण्ड गोली, बाइनाकुलर ३ थान र ड्राइपोर्ट–१ थान लगायतका हतियार समेत बरामद गरेको छ । उक्त हतियार इजाजत प्राप्त रहे नरहेको, कुन प्रयोजनका लागि राखिएको लगायतका विषयमा अनुसन्धान नै नगरी नियन्त्रणमा लिएका व्यक्तिहरुलाई छाडिनाले आशंका उठेको हो । चौतर्फी दवाव र विरोध सुरु भएपछि छाडिएकाहरुलाई पुनः अनुसन्धानका लागि भन्दै वन कार्यालयलाई बुझाईएको छ । अब सत्यतथ्य अनुसन्धानको प्रतीक्षा छ ।
अनुसन्धान जो कोही भए पनि तथ्यपरक हुनुपर्दछ । ‘सानालाई ऐन र ठूलालाई चैन’ भन्ने भनाई चरितार्थ हुने नगरी मुख हेरेर, प्रभाव र पहुँचको दवावमा परेर वास्तविकतालाई बङ्ग्याएर अनुसन्धान नहोस् भन्ने जनचाहना पनि रही आएको छ । यसप्रति ध्यान दिन जरुरी छ ।