• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको रुपनी गाउँपालिका–१ स्थित कन्छु नरप्रताप माविमा विपन्न लक्षित छात्रवृत्तिमा लाखौंको चलखेल भएको समाचार छ । झुठो विवरण पेश गरेर १५ लाख ७२ हजार निकासा गरी अनियमितता गरेको खुलासा भएको हो ।
नियमित अध्ययनरत नरहेका विद्यार्थीहरुको झुठो विवरण पेश गरेर निकासा गरेको छात्रवृत्ति रकम शिक्षा नियमावली तथा विद्यालयले बनाएको आचारसंहिता विपरित रहेको महालेखा परीक्षकको प्रतिवेदन २०७९।०८० ले ठहर गरेको छ । शिक्षामा सबैको पहुँच बन्न सकोस र विपन्नहरु पनि विद्यालय आएर शिक्षक आर्जनतर्फ आकर्षित होईन भन्ने धेयका साथ नै सरकारले ‘विपन्न लक्षित छात्रवृत्तिको व्यवस्था गरेको हो । यसका लागि विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड’ को समेत व्यवस्था गरिएको छ । तर कार्यान्वयनका क्रममा त्यसको समेत उल्लंघन गर्दै विद्यालयमा नियमित अध्ययनरत नरहेका विद्यार्थीका नाममा समेत छात्रवृत्ति उपलब्ध गराएको भन्ने आशय महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । कुरा रायपुरस्थित उक्त माविको मात्र होईन अन्य पालिकाका कतिपय सामुदायि विद्यालयमा पनि छात्रवृत्ति, खाजाभत्ता लगायतका अनियमितता भएका समाचार आउने गरेका छन् ।
यस प्रकारको अनियमितता रोक्नका लागि नियमनकारी निकायले तदारुकता नदेखाएको हो भने यस प्रकारको विकृति अझै बढेर जान सक्दछ । अनि जुन उद्देश्यका साथ छात्रवृत्तिको व्यवस्था गरिएको हो त्यसको पूर्णतामा पनि अवरोध नआउला भन्न सकिन्न । छात्रवृत्ति वितरणमा हुन सक्ने यस प्रकारका अनियमितता रोक्नका लागि नियमित अनुगमन गरिनु आवश्यक हुन्छ । अनुगमन नगर्ने अनि अनियमिततालाई छुट नै दिईरहने हो भने सरकारले गर्दै आएको यति ठूलो लगानी बालुवामा पानी खन्याएसरह नबन्ला भन्न सकिन्न ।