• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको राजविराज नगरपालिका–१३ स्थित महाविर मा.वि. विषहरियामा लाखौंको सामान चोरी भएको छ । चोरीमा संलग्न पहिचान हप्तौं वित्दा पनि हुन नसकेको कारण शिक्षकदेखि अभिभावक सम्ममा त्रास फैलिएको छ ।
गत साउन २६ गते राती विद्यालय कोठाको ताल्चा फोरेर चोरहरुले २ थान कम्प्युटर, एउटा फोटोकपी मेसिन, २७ थान पंखा समेत गरी करिब १२ लाख भन्दा बढीको समान लगेको विद्यालय प्रशासनले जानकारी दिएएको छ । विद्यालयमा यस्ता भौतिक सामग्री उपकरणको व्यवस्था गरिए पनि राती सुरक्षाका लागि पालेको व्यवस्था नहुँदा चोरी भएको मान्न सकिन्छ । सप्तरीका अन्य विद्यालयहरुमा पनि यस्ता सामग्री र उपकरण रहेका छन् । तर ती सबैमा रात्री सुरक्षाकर्मीका लागि पाले राख्न नसकिएको अवस्था छ । बजेट अभावका कारणले नै पाले राख्न नसकिएको कुरा बुझ्न गाह्रो नपर्ला । तर विद्यालयहरुमा यस्ता आधुनिक उपकरण राखेर त्यस अनुसारको शिक्षा दिने व्यवस्था रहेका कारण ती सामग्री लगायत समग्र विद्यालयको सुरक्षा कसरी गर्न सकिन्छ भने यति बेला प्रश्न उठेको छ । दिनभरि पठनपाठन सञ्चालन गरे पनि छुट्टि भएपछि विद्यालय सुनसान रहन्छ । गाउँ–गाउँमा यस्ता विद्यालयहरु रहेका भएपनि ती सबैमा सुरक्षाकर्मीले रात्री गस्ती गरेर सुरक्षा दिन सम्भव हुँदैन । त्यसैले रातीको समयमा सुरक्षाका लागि कम्तिमा एक जना पालेलाई राख्ने व्यवस्था भयो भने विद्यालयहरुलाई चोरीबाट जोगाउन सकिन्छ । अहिले विद्यालयहरु स्थानीय तह मातहत रहेका छन् । स्थानीय सरकारकै भूमिकामा रहेका स्थानीय तहहरुले विद्यालयको पठनपाठनको नियमितताका साथसाथै सुरक्षा प्रबन्ध मिलाउने तर्फ पनि सोच्नु पर्ने भएको छ । अहिले विषहरिया स्थित माविमा चोरी भएको छ । यस्तै घटना भविष्यमा अर्को विद्यालयमा पनि नहोला भन्न सकिन्न ।
मन्दिरका सामग्री त चोर्न नछोड्ने चोरले विद्यालयमा चोरी नगर्लान भन्न सकिन्न । त्यसमाथि विषहरियाको मा.वि.मा चोरी गर्नेको अहिलेसम्म पहिचान पनि हुन नसकेका कारण चोरले उन्मुक्ति पाएको अवस्था छ । यो समस्याप्रति समयमै ध्यान पु¥याउन आवश्यक छ ।