• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

हुलाकी सडकलाई तराई–मधेशको ‘लाईफ लाईन’ मान्ने विषयमा कुनै पनि राजनीतिक दलको शायदै विमती होला । सबै जसो दलले यो सडक निर्माणको कामलाई पूर्णता दिनुपर्छ भन्नेमा नै आफ्नो मत जाहेर गर्दै आएका पनि छन् ।
विगतमा मधेशमाथि राज्य पक्षबाटै हुँदै आएको विभेदका क्रममा यस सडकको काम पनि ओझेलमा पर्दै आएको थियो । परिवर्तित राजनीतिक परिवेशमा सडक स्तरोन्नतिको काम धेरै हदसम्म भएको पनि छ । यसै कारण तराईका एक जिल्लाको सदरमुकाम अर्को जिल्लासित निकट बन्दै गएको छ । पहिलो सडकको दुरावस्थाका कारण ‘दुर्गम’ बनेका मधेशका दक्षिणी भेगका गाउँबस्ती यही हुलाकी सडक स्तरोन्नतिका कारणले क्रमशः गुल्जार देखिन थालेका छन् । यति हुँदाहुँदै पनि सिरहा र धनुषालाई जोड्ने हुलाकी सडक अन्तर्गतको कमला नदीमा पुलको निर्माण अहिलेसम्म हुन सकेको छैन । यसले गर्दा आवतजावतमा स्थानीय जनताले मात्र नभई सप्तरीबासी समेतले समस्या भोग्नु परिरहेको छ । जनकपुर मधेशको राजधानी समेत रहेका कारण छोटो दूरीको यात्रा मार्फत त्यहाँ सम्म पुग्ने माधयम हुलाकी सडक नै हो । तर कमलामा पुल नभएका कारणले गर्दा सिरहा र सप्तरीबासीलाई आवतजावतको बढी समस्या छ । कमलामा पुल निर्माणका लागि पटक–पटक आवाज उठ्दै पनि आएको छ । यसका बारेमा प्रधानमन्त्री, उप–प्रधानमन्त्री, भौतिक पूर्वाधारमन्त्री लगायत पार्टीका नेताहरु समक्ष ध्यानाकर्षण गराउने देखि विभिन्न चरणका आन्दोलन समेत भईसकेकै छन् । तर पनि ाश्वासन शिवाय काम चाहीँ केही हुन नसक्दा अहलिे मधेश प्रदेशस्थित मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनसन सुरु भएको छ । कमलाको पुल भन्ने बित्तिकै तुरुन्त निर्माण सम्पन्न हुने पनि होईन, यसमा समय लाग्छ भन्ने सबैलाई जानकारी रहेकै विषय हो । आमरण अनसनमा बसेकाहरुले पनि उक्त कामको सुरुवात गरी त्यसलाई निरन्तरता दिन र यस वर्षभित्र हुने कामका लागि बजेट छुट्याएर पुल निर्माणको कामलाई सुरु गर्न माग गर्दै आएका छन् ।
लाखौं जनताले कठिनाई भोग्नु परिरहेको यस विषयप्रति सरकारले पहिले नै सोच्नु पर्ने आवश्यकता थियो । तर सुनुवाईको नहुनाले नै बाँध्य भएर आमरण अनसन सुरु गर्नु परेको हो । जनताले विकास निर्माणको उचित माग राखेर गरेको संघर्ष प्रति सरकारले अनदेखा गर्न मिल्दैन पनि । तसर्थ अनसनकारीहरुसित वार्ता सुरु गरी पुल निर्माणको कार्य अविलम्व थालनी गर्न जरुरी छ ।