राजविराज नगरपालिकामा मंगलबार जुन प्रकारको ताण्डब देखियो,त्यो हेर्दा यो स्थानीय सरकारले नगरवासीको भावना अनुसार विकास निर्माण,सुशासन तथा पध्दति बसाउन सक्ला कि नसक्ला भन्ने आशंका बढाएको मान्नु पर्दछ ।
नगरपालिकाले दुई पटक बोलपत्र आह्वान गरेर पनि विगतको दररेट अनुसार ठेक्का लगाउन नसक्ने अवस्था आएपछि पहिलेको भन्दा कम रेटमा लगाएको भन्दै एक हुल मानिस आएर नगरपालिकामा तिब्र बिरोध जनाए । नगरपालिकाका हाल निलम्बित मेयरको नेतृत्वमा आएको एक समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि अपशब्द समेत प्रयोग गरेको भन्दै अहिले कतिपय कोणबाट आलोचना हुन थालेको छ । यही तरिकाबाट जनताबाट निर्वाचित नगरपिता(हाल निलम्बित) नै अपशब्द प्रयोगमा उद्दत भएपछि अरुले के सिक्ने ? भन्ने प्रश्न उठेको छ । आफ्ना कुरामा सहमति वा विमति राख्ने अधिकार सबैलाई छ । यदि विमति राख्दा पनि सुनुवाई भएन भने आफ्ना उचित विचारलाई लिएर न्यायालयमा गई उजुरी गर्ने बाटो पनि छँदैछ । तर त्यसलाई अबलम्बन नगरी यस प्रकारले गालीगलौजमै उत्रिने अधिकार भने कसैलाई रहन्न । प्रमुख प्रशासकीय अधिकृत भनेको नगरपालिकाका कार्यालय प्रमुख पनि हुन् । उनले यदि गल्ती गरेका हुन् भने उनीभन्दा माथिको पुस्तालाई जोडेर अपशब्द प्रयोग गर्दैमा उनको गल्तीको माफी मिनाहा हुन्छ भन्ने होईन । प्रमुख प्रशासकीय अधिकृतको नै त्रुटी हो भने उनीमाथि अपशब्द प्रयोग गरी निलम्बित मेयर वा अन्य कसैले कारवाही गर्ने अधिकार पनि छैन । कानूनी शासनको अनुरुप स्थानीय तहको पनि सञ्चालन गरिनु पर्दछ,बाहुबलका आधारमा होईन ।
नगरपालिकामा पनि सबैले पध्दति अनुसार नै काम गर्नु पर्ने हुन्छ । त्यहाँ यदि बेथिति भएको छ र त्यसलाई सच्याउनु पर्छ भन्ने सोचले कसैले अग्रसरता लिन्छ भने उसले पनि प्रकृयागत रुपमा नै अघि बढ्नु उचित हो । रिसको झोकमा भुस कुट्ने ब्यग्रताले थिति बसाउन सकिँदैन ।